काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायरअन्तर्गत कुशल भुर्तेलको शतक प्रेरित प्रदर्शनमा नेपालले मलेसियासामु २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको बलियो योगफल खडा गर्यो। ओपनर कुशल भुर्तेलले ५४ बलमा १२६ रनको उत्कृष्ट शतकीय इनिङ्स खेले। उनले १४ चौका र ८ छक्का प्रहार गरे। यो उनको टी-२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक हो।
अर्का ओपनर आसिफ शेखले पनि आक्रामक ब्याटिङ गर्दै २४ बलमा ६८ रन बनाए। उनले ७ छक्का र ५ चौका प्रहार गरे। दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रनको विस्फोटक योगदान दिए, जसमा ४ छक्का र १ चौका समावेश रहे।
मलेसियातर्फ विरनदीप सिंहले ३ विकेट लिए भने सिद अजिज र विजय उन्नीले २-२ विकेट लिए। नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन्।







