काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय क्रिकेट टोली संलग्न पछिल्लो खेलमा भुटानकी ब्याटरलाई ‘टाइम्ड–आउट’ विधिबाट आउट गरिएको घटनाप्रति औपचारिक रूपमा माफी मागेको छ।
नेपाल क्रिकेट संघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटना क्रिकेटको आत्मा र खेलभावनासँग मेल नखाने प्रकृतिको भएको उल्लेख गरिएको छ। यद्यपि नियमअनुसार उक्त निर्णय वैध भए पनि खेलको मूल भावना नियमभन्दा माथि हुने भएकाले त्यस पक्षमा पर्याप्त संवेदनशीलता नअपनाइएको संघले स्वीकार गरेको छ।
क्यानले नेपाललाई विकासोन्मुख क्रिकेट राष्ट्रका रूपमा उल्लेख गर्दै खेलमा अनुशासन, आपसी सम्मान र निष्पक्ष खेल भावनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएको छ। साथै घटनाका कारण सम्बन्धित पक्षमा परेको असहजता र असन्तोषप्रति दुःख व्यक्त गरिएको छ।
संघले भुटान क्रिकेट, सम्बन्धित खेलाडी तथा सम्पूर्ण सरोकारवालासँग क्षमा याचना गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन थप सचेत रहने जनाएको छ।
त्यसैगरी, क्यानले मैदानभित्र मात्र नभई बाहिर पनि खेलको इमान्दारिता र ‘स्पिरिट अफ द गेम’ कायम राख्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।
यस घटनापछि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा खेल भावनासम्बन्धी बहस पुनः तीव्र बनेको छ।








