काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय अभियन्ता दुर्गा प्रसाईंबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ।
राजसंस्था पुनर्स्थापनालाई साझा उद्देश्य बनाउँदै दुवै पक्षबीच एकता गर्ने सम्बन्धमा औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। उक्त सहमतिसँगै लामो समयदेखि प्रसाईंले नेतृत्व गर्दै आएको ‘नागरिक बचाउ महाअभियान’ औपचारिक रूपमा समाप्त भएको घोषणा गरिएको छ।
सम्झौता सार्वजनिक कार्यक्रममा दुर्गा प्रसाईंले आफ्नो अभियान अब औपचारिक रूपमा विसर्जन गरिएको जानकारी दिएका छन्। साथै, आगामी राजनीतिक संरचनाको रूपरेखा तयार पार्ने तयारी भइरहेको पनि जनाइएको छ।
कार्यक्रममा डा। धवलशम्शेर राणाले नयाँ राजनीतिक दलको नाम, संरचना र चुनाव चिह्न लगायतका विषयमा विज्ञ तथा सरोकारवालासँग परामर्श गरेर टुंगो लगाइने बताए। उनका अनुसार मलमास अवधि सकिएपछि नयाँ राजनीतिक दल औपचारिक रूपमा घोषणा गर्ने तयारी छ।
दुवै पक्षको सहकार्यलाई राजसंस्था पुनर्स्थापनासम्बन्धी अभियानलाई संस्थागत राजनीतिक स्वरूप दिने प्रयासका रूपमा लिइएको छ।









