काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्बन्धी सहकार्य भएको छ।
दुवै संस्थाबीच भएको सम्झौताअनुसार भाटभटेनीका सम्पूर्ण स्टोरबाट सामान खरिद गर्ने ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले ‘अन-द-फ्लाई ईएमआई’ सुविधा प्राप्त गर्नेछन्। डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको जनाइएको छ।
सम्झौताबमोजिम न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा ग्राहकले अतिरिक्त कागजी प्रक्रिया बिना नै किस्ताबन्दी सुविधा लिन सक्नेछन्। ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। यस योजनाअन्तर्गत ग्राहकबाट कुनै ब्याज वा प्रोसेसिङ शुल्क नलिइने बैंकले जनाएको छ।
यस सुविधाले विशेषगरी विद्युतीय उपकरण तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्कालको आर्थिक भार व्यवस्थापन गर्न र योजनाबद्ध रूपमा भुक्तानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ समेत जारी गरिने भएको छ। ग्राहकको आर्थिक वर्ष तथा पछिल्ला तीन महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा उपलब्ध हुने जनाइएको छ। प्रारम्भिक चरणमा उक्त कार्ड भाटभटेनी तथा त्यससँग सम्बन्धित नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार कार्ड प्रयोगकर्ताले सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा आगामी दिनमा सञ्चालन गरिने ग्राहक केन्द्रित विभिन्न योजनाको लाभ लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंक र भाटभटेनीले आगामी दिनमा संयुक्त रूपमा छुट, क्यासब्याक, रिवार्ड तथा ग्राहक लक्षित अन्य कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्। यस योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारका रूपमा सहकार्य गरेको छ।
ग्लोबल आइएमई बैंक हाल मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गरेको निजी क्षेत्रको वाणिज्य बैंक हो। बैंकले ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। साथै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’, ‘बेस्ट बैंक ईएसजी नेपाल’ तथा ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मान प्राप्त गरेको जनाएको छ।







