काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद समीक्षा बास्कोटाले उक्त अभिव्यक्ति संसदीय मर्यादा विपरीत रहेको भन्दै आपत्ति जनाएकी हुन्। उनले नागरिकका मुद्दा उठाउने विषय कुनै पनि दलको एकल अधिकार नभई सबै प्रतिनिधिको साझा दायित्व भएको बताइन्।
बास्कोटाले लोकतान्त्रिक अभ्यासमा अभिव्यक्ति स्वतन्त्रता रहे पनि त्यसको प्रयोग जिम्मेवार ढंगले हुनुपर्ने उल्लेख गरिन्। उनले आफ्नो दल संयमित र उत्तरदायी भूमिकामा रहेको भन्दै सदनलाई द्वन्द्वको थलो बनाउन नहुने धारणा राखिन्।
उनका अनुसार लामो समयदेखि कायम रहेको बेथिति अन्त्य गर्ने उद्देश्यसहित आफूहरू संसदमा आएको हो, तर संसद्को मर्यादामाथि असर पर्ने किसिमका अभिव्यक्तिहरू स्वीकार्य हुन नसक्ने बताइन्।
उनले “संसद्को चीरहरण” तथा “मुर्दा शान्ति” जस्ता शब्दावली आपत्तिजनक रहेको भन्दै ती अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुखसँग माग गरिन्।
बास्कोटाको आपत्तिपछि सभामुखले उक्त विषयमा ध्यानाकर्षण भएको जानकारी गराएका छन्।







