काठमाडौँ । कर्णाली क्षेत्रका महिलाको संघर्ष र जीवनकथामा आधारित सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ।
अक्षर आँगन प्रकाशन गृहद्वारा प्रकाशित उक्त उपन्यासको विमोचन साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी र टीकाराम यात्री लगायतले संयुक्त रूपमा गरेका थिए।
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, राष्ट्रियसभा सदस्य सावित्री मल्ल, साहित्यकार, लेखक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा पत्रकार टीकाराम यात्रीको सहजीकरणमा साहित्यकार कृष्ण धरावासी, समालोचक उमा सुवेदी र उपन्यासकार सिर्जु शाहबीच कृतिका विभिन्न पक्षबारे विमर्श गरिएको थियो।
उपन्यासको भूमिका लेखकसमेत रहेका साहित्यकार कृष्ण धरावासीले कृतिले कर्णालीका महिलाले भोगेका पीडा र संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए। पहिलो कृति भए पनि लेखनशैली, भाषा र कथावस्तुका दृष्टिले उपन्यास सशक्त रहेको उनको भनाइ थियो। उनले ‘बैकिनी’ ले कर्णालीलाई नयाँ दृष्टिकोणबाट चिनाउन सक्ने विश्वास व्यक्त गरे।
समालोचक उमा सुवेदीले उपन्यासमा कल्पना र यथार्थबीच सन्तुलन कायम गरिएको बताउँदै महिलाकेन्द्रित कथाले संघर्षका नयाँ आयाम उजागर गरेको उल्लेख गरिन्। उनले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले समेत यो कृति अध्ययन गर्नुपर्ने धारणा राखिन्।
लेखिका सिर्जु शाहले जागिरे जीवनका क्रममा भेटिएका महिलाहरूको वास्तविक अवस्था र संघर्षबाट प्रभावित भएर उपन्यास लेख्ने प्रेरणा पाएको बताइन्। उनले समाजमा महिलाले अझै भोगिरहेका चुनौती र संघर्षलाई साहित्यमार्फत उजागर गर्ने प्रयास गरेको उल्लेख गरिन्।
विमोचनपछि आयोजित छलफलमा वक्ताहरूले ‘बैकिनी’ को सामाजिक सन्देश र साहित्यिक महत्वबारे चर्चा गर्दै यसले नेपाली साहित्यमा महत्त्वपूर्ण स्थान बनाउन सक्ने विश्वास व्यक्त गरेका थिए।
कर्णाली क्षेत्रको आञ्चलिक शब्द ‘बैकिनी’ को अर्थ ‘तरुनी’ हो। विभिन्न संघर्षका बीच जीवन अघि बढाइरहेका महिला पात्रलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यासले कर्णालीका महिलाको जीवन, पीडा, साहस र विद्रोहलाई उजागर गरेको छ।







