काठमाडौँ । मिठाईको आकर्षक रङ, स्वादिलो परिकार र व्यस्त भान्साले ग्राहक तान्न सक्छन्, तर त्यही भान्सामा खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही भए उपभोक्ताको स्वास्थ्य नै जोखिममा पर्न सक्छ। यस्तै अवस्थालाई मध्यनजर गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा विराटनगरस्थित मिथिला थाली र हाम्रो मिथिला किचेनमा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित विभिन्न कमजोरी भेटिएपछि सुधारका लागि निर्देशन दिएको छ।
विभागले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरबाट असार ४ गते संयुक्त अनुगमन टोली परिचालन गरी खाद्य व्यवसायहरूको स्थलगत निरीक्षण गरेको थियो। विराटनगर महानगरपालिकामा रहेको मिथिला थालीमा अखाद्य वस्तु हाइड्रो र कृत्रिम अखाद्य रङ प्रयोग गरी मिठाई बनाइएको, म्याद गुज्रेको खाद्य सामग्री भण्डारण कक्षमा पाइएको र खाना तयार गर्ने स्थलमा सरसफाइको अवस्था पर्याप्त सन्तोषजनक नदेखिएको विभागले औँल्याएको छ।
विभागको विराटनगर कार्यालयले मिथिला थालीमा अखाद्य वस्तु प्रयोग गरी तयार गरिएको ५ केजी अखाद्य मिठाई नष्ट गरेको छ। साथै, म्याद गुज्रेको करिब १ हजार ९५ रुपैयाँ बराबरको खाद्य सामग्री तथा १ थान हाइड्रो र १ थान चम्पाइ रङसमेत नष्ट गरिएको जनाएको छ।
नष्ट गरिएको सामग्रीपछि अब उप्रान्त अखाद्य वस्तु प्रयोग गरी खाद्य वस्तु तयार नगर्न तथा खाद्य वस्तु तयार गर्ने स्थानको संरचनामा सुधार गर्न विभागले निर्देशन दिएको छ।
यस्तै, विराटनगर महानगरपालिका–८ मा रहेको हाम्रो मिथिला किचेनमा विभागले अनुगमन गर्दा खाद्य वस्तु तयार गर्ने स्थानको प्रवेशद्वारमा जाली नभएको, फ्रिजमा खानेकुरा छोपेर नराखिएको तथा तयारी खाना बिक्री गर्ने भए पनि खाने व्यवस्था नभएकाले अनुगमनका क्रममा खाद्य पदार्थ तयार गर्ने कार्य नभएको पाइएको जनाएको छ।
खाद्य वस्तु तयार गर्ने स्थानमा स्टेनलेस स्टिलका भाँडा प्रयोग गर्न, प्रवेशद्वारमा जाली ढोकाको व्यवस्था गर्न तथा खाद्य वस्तु तयार गर्ने स्थानमा पर्याप्त प्रकाशको व्यवस्था गर्न विभागले निर्देशन दिएको छ। निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही गरिएको विभागले जनाएको छ।






