काठमाडौँ । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुने गरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्य योजनासहित काम गरिरहेको स्पष्ट पारे ।
‘न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्दछ । त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ । त्यो भन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको कानुन विपरीत हुन्छ । र त्यसमा कानुनका विभिन्न बुँदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ,’ उनले भने, ‘त्यस्तै गरेर एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनु पर्दछ । उसले श्रममा रहुन्जेलसम्म पनि आफ्नो व्यवसाय, आफ्नो श्रमको सुरक्षा, व्यवसायको सुरक्षाको कुरा हुन्छ ।’







