रामेछाप । सवारी ज्यान तथा अंगभंग मुद्दामा अदालतबाट दोषी ठहर भई विगत ७ वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक विज्ञप्ति जारी गर्दै फरार प्रतिवादी पक्राउ परेको जानकारी दिएको हो। पक्राउ पर्नेमा जिल्ला रामेछाप दोरम्बा शैलुङ गाउँपालिका वडा न. २९ वर्षीय खगेन्द्र दर्लामी मगर रहेका छन्।
प्रहरीका अनुसार, सैनी कुमरको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी खगेन्द्र दर्लामी मगर भएको सवारी ज्यान तथा अङ्गभङ्ग मुद्दामा सम्मानित सिन्धुली जिल्ला अदालतले मिति २०७६–०३–११ गते फैसला सुनाएको थियो। उक्त फैसलाले दर्लामीलाई ३ वर्ष ११ महिना ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने ठहर गरेको थियो। अदालतको फैसलापछि सजाय भुक्तान नगरी उनी फरार रहँदै आएका थिए।
फरार रहेका दर्लामीलाई इलाका प्रहरी कार्यालय टोकरपुर, रामेछापबाट खटिएको प्रहरी टोलीले मंगलवार काठमाडौँको रामशाहपथबाट पक्राउ गरेको हो।
पक्राउ गरी ल्याइएका उनलाई रामेछाप जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशअनुसार बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय रामेछाप पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिएका छन्।






