काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले कृषिलाई राष्ट्रिय विकासको प्राथमिक क्षेत्रमा राख्दै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित दीर्घकालीन नीति तथा कार्यक्रम तर्जुमा गर्न सरकारलाई आग्रह गरेका छन्।
आइतबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा धारणा राख्दै सदस्यहरूले कृषि उत्पादन वृद्धि, किसानको हित संरक्षण तथा खाद्य सुरक्षालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको बताएका हुन्।
सांसद दुर्गा गुरुङले गरिब, भूमिहीन तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद सम्झना देवकोटाले धान तथा बीउ उत्पादनमा स्वदेशी क्षमता अभिवृद्धि गरी आत्मनिर्भरता हासिल गर्न आवश्यक वातावरण निर्माण गर्न सरकारसँग माग गरिन्।
बैठकमा सांसद नरबहादुर विष्टले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता आधारित हुनुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी, सांसद मोहम्मद खालिदले होल्डिङ सेन्टरसम्बन्धी उठिरहेका विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याए।
सांसद विष्णुकुमारी सापकोटाले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउने वा राजनीतिक गतिविधिमा प्रयोग गर्ने अभ्यास बालअधिकारको दृष्टिले उपयुक्त नभएको उल्लेख गर्दै बालअधिकार संरक्षणका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।







