काठमाडौँ । नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणलाई आधार बनाएर मार्क्सवाद वा समग्र कम्युनिस्ट आन्दोलनको सान्दर्भिकतामाथि प्रश्न उठाउनु उचित नहुने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले व्यक्ति र विचारधारालाई एउटै रूपमा मूल्यांकन गर्न नहुने धारणा व्यक्त गरे।
उनका अनुसार सार्वजनिक पदमा पुगेपछि केही नेताले अपनाउने गलत आचरणलाई सिद्धान्तको कमजोरीका रूपमा व्याख्या गर्न मिल्दैन। यस्तो अवस्था व्यक्तिको नैतिक आचरणसँग सम्बन्धित विषय भएकाले त्यसलाई विचारधारासँग जोडेर हेर्न नहुने उनले बताए।
ज्ञवालीले केही व्यक्तिको व्यवहारका कारण कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त भएको निष्कर्षमा पुग्न नहुने उल्लेख गर्दै त्यस्तो धारणा भ्रमपूर्ण हुने टिप्पणी गरे।
उनले मार्क्सवाद, कम्युनिस्ट आन्दोलन, जनताको बहुदलीय जनवाद तथा वैज्ञानिक समाजवाद वर्तमान राजनीतिक र सामाजिक सन्दर्भमा अझै पनि प्रासंगिक रहेको धारणा व्यक्त गरेका छन्






