काठमाडौँ । भारतीय सीमासँग जोडिएको सुस्ता क्षेत्रका बासिन्दाले नागरिकता, भूमि अधिकार तथा सीमा सुरक्षासम्बन्धी माग अघि सार्दै काठमाडौँको माइतीघरमा धर्ना दिएका छन्।
प्रदर्शनमा सहभागी स्थानीयले सुस्ता क्षेत्रको माटो साथमा ल्याएर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका हुन्। उनीहरूले भारतीय पक्षबाट आफूहरूमाथि दबाब र हैरानी बढ्दै गएको दाबी गरेका छन्।
धर्नामा सहभागीहरूले सीमा क्षेत्रमा हुने अतिक्रमण नियन्त्रणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न, सीमा सुरक्षालाई थप सुदृढ बनाउन, सुस्ताका बासिन्दालाई शीघ्र नेपाली नागरिकता उपलब्ध गराउन तथा लामो समयदेखि भोग चलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) प्रदान गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा सीमा सम्बन्धमा दिएको भनिएको विवादास्पद अभिव्यक्तिपछि भारतीय सुरक्षा निकायबाट थप समस्या र दबाब सामना गर्नुपरेको अवस्था सिर्जना भएको छ।
‘सुस्ता बचाउ अभियान’को आह्वानमा सुरु गरिएको उक्त आन्दोलनअन्तर्गत उनीहरूले धर्ना कार्यक्रम सञ्चालन गरेका हुन्।
प्रदर्शनकारीहरूले आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न प्रधानमन्त्रीको सचिवालयसँग पटक-पटक भेटघाटको समय माग गरे पनि हालसम्म त्यसका लागि अवसर नपाएको गुनासोसमेत गरेका छन्।







