काठमाडौँ । ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सन् २०२६ को फिफा विश्वकपको अन्तिम–१६ चरणमा ब्राजिल नर्वेसँग २–१ गोलअन्तरले पराजित भई प्रतियोगिताबाट बाहिरिए लगत्तै नेयमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको बताएका हुन्।
मेट लाइफ स्टेडियममा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । तर नर्वेका अर्लिङ हालान्डको दुई गोलले ब्राजिलको पुनरागमन सम्भव हुन सकेन ।
खेलपछि ब्राजिलको ग्लोबो एस्पोर्टेसँग कुरा गर्दै नेयमारले भने, “मैले धेरै प्रयास गरेँ । अब यो समाप्त भयो । मेरो यात्रा यहीँबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो ।” अन्तिम सिटी बज्नासाथ उनी भावुक हुँदै आँसुमा डुबेका थिए भने टोलीका खेलाडीहरूले उनलाई सान्त्वना दिएका थिए ।
ब्राजिलका सर्वाधिक गोलकर्ता नेयमारले सन् २०१० मा यही मेट लाइफ स्टेडियममा अमेरिकाविरुद्ध २–० को जितमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए । त्यसै मैदानमा सम्भावित अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नु उनका लागि विशेष संयोग बनेको छ ।
पछिल्ला केही वर्ष चोटपटकका कारण लगातार समस्यामा पाएका पूर्व बार्सिलोना र पेरिस सेन्ट–जर्मेनका खेलाडी हाल आफ्नो पुरानो क्लब सान्तोसबाट खेलिरहेका छन् । चोटकै कारण उनले विश्वकपका सुरुआती दुई समूह खेल गुमाएका छन् । त्यसपछि स्कटल्यान्डविरुद्धको खेलमा मैदान फकिएका उनको प्रतियोगितामा दोस्रो तथा सम्भावित अन्तिम उपस्थिति नर्वेविरुद्ध रह्यो । अक्टोबर २०२३ यता यो उनको पहिलो अन्तर्राष्ट्रिय पुनरागमन पनि थियो ।







