काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरेका छन्।
सोमबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै क्षेत्रीले मुलुकमा देखिएको नयाँ राजनीतिक परिस्थितिलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने उल्लेख गरे। उनका अनुसार हालैका राजनीतिक घटनाक्रमपछि केही सकारात्मक अपेक्षा र आशा देखिए पनि त्यसलाई परिणाममुखी दिशामा लैजाने जिम्मेवारी सरकारमाथि रहेको छ।
उनले भ्रष्टाचार नियन्त्रण सबै पक्षको साझा सरोकार भए पनि पछिल्लो समय यसलाई विगतका सरकारसँग मात्र जोडेर हेर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे। वर्तमान सरकार पनि भविष्यमा यस्तै आरोपबाट प्रभावित नहोस् भन्नका लागि अहिले नै पारदर्शिता र सुशासनमा विशेष ध्यान दिनुपर्ने उनको धारणा थियो।
कार्यक्रममा क्षेत्रीले कृषि क्षेत्रको उपयोगितासम्बन्धी विषयमा पनि धारणा राख्दै खेतीयोग्य जमिन बाँझो नराख्ने स्पष्ट नीति आवश्यक रहेको बताए। जमिनलाई उत्पादनमूलक बनाउन कृषक आफैँ संलग्न नभए पनि वैकल्पिक रूपमा अरूलाई प्रयोग गर्न दिने व्यवस्था सुनिश्चित नगरेसम्म आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने उनको भनाइ थियो।







