काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हाललाई अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सुमार्गीले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म उनीविरुद्ध थप अनुसन्धान तथा कारबाही नगर्न सम्बन्धित निकायका नाममा अन्तरिम आदेश दिएको हो।
सर्वोच्च अदालतले सार्वजनिक गरेको आदेशको लिखित पाठमा निवेदनको अन्तिम फैसला नआएसम्म अदालतको आदेश विपरीत हुने कुनै पनि प्रकारको अनुसन्धान वा कारबाही नगर्न र नगराउन भनिएको छ।
सुमार्गीले एउटै विषयमा आफूलाई पटक-पटक अनुसन्धानको दायरामा ल्याइएको दाबी गर्दै थप अनुसन्धान रोक्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
यसअघि करिब दुई साताअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुमार्गीको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कानुनी उपचारको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए।







