काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न तह तथा सेवाअन्तर्गत रिक्त ७२ पदमा मूल्यांकन बढुवामार्फत पदपूर्तिका लागि योग्य कर्मचारीबाट अनलाइन आवेदन माग गरेको छ।
बैंकले मंगलबार सूचना प्रकाशित गर्दै लोक सेवा आयोगको सहमति तथा बैंकको पदपूर्ति समितिको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली, २०७० (सातौँ संशोधन) को विनियम २० बमोजिम बढुवा प्रक्रिया अघि बढाइएको जनाएको छ।
सूचनाअनुसार कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता तथा भौगोलिक क्षेत्रलाई आधार मानी मूल्यांकन बढुवा गरिनेछ। विनियमबमोजिम आवश्यक न्यूनतम स्थायी सेवा अवधि र शैक्षिक योग्यता पूरा गरेका तथा बढुवामा सहभागी हुन अयोग्य नरहेका कर्मचारीले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २० दिनभित्र बैंकको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। आवेदन फाराम बैंकको वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ।
आवेदन दिँदा आवश्यक कागजातहरूको प्रमाणित स्क्यान प्रतिलिपि संलग्न गर्नुपर्नेछ। यसअघि बढुवासम्बन्धी सूचना प्रकाशित भइसकेका कर्मचारीले पुनः आवेदन दिनुपर्ने व्यवस्था नरहेको पनि बैंकले स्पष्ट पारेको छ।
सूचनाअनुसार प्रमुख प्रबन्धकदेखि वरिष्ठ सहायकसम्मका विभिन्न प्रशासन, लेखा, कानुन, नगद तथा सूचना प्रविधि समूहका पदमा गरी कुल ७२ पदमा मूल्यांकन बढुवाबाट पदपूर्ति गरिनेछ।







