काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि जडान हुन नसकेको क्याथ ल्याब उपकरण अब सञ्चालनको तयारीमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार उक्त उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो।
अस्पतालका लागि २०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब विभिन्न कारणले हालसम्म प्रयोगमा आउन सकेको थिएन। मन्त्रालयले उपकरण जडान प्रक्रिया अघि बढाउँदै सेवा सञ्चालनको तयारी भइरहेको जनाएको छ।
क्याथ ल्याब सञ्चालनमा आएपछि नारायणी अस्पतालबाट मुटुसम्बन्धी विशिष्टीकृत उपचार सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।
यस सेवाबाट मधेस प्रदेशसहित आसपासका जिल्लाका बिरामीलाई आफ्नै क्षेत्रबाट मुटु रोगसम्बन्धी परीक्षण तथा उपचारमा सहजता पुग्ने मन्त्रालयको भनाइ छ।







