कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–८, बालापुरस्थित बाणगंगा खोलामा पौडी खेल्ने क्रममा अचानक पानीको बहाव बढेपछि बीच भागमा फसेका ७ जना युवाहरूको सकुशल उद्धार गरिएको छ।
शनिवार दिउँसो करिब २:५० बजेको समयमा खोलामा पौडी खेलिरहेका उनीहरू पानीको बहाव अचानक बढेपछि खोलाको बीच भागमा फसेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त विपद् उद्धार टोलीले तत्काल घटनास्थलमा पुगी सफल उद्धार गरेको हो।







