काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म देशभर ‘डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालन गर्ने भएको छ। डेंगु संक्रमणको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
अभियान सफल बनाउन देशका सबै ७५३ स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ। प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाका अनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको समान अभियानबाट जनचेतना अभिवृद्धि हुनुका साथै समुदायको सहभागितामार्फत संक्रमण नियन्त्रणमा सकारात्मक नतिजा देखिएकाले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको हो।
अभियानअन्तर्गत हरेक शुक्रबार ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ। यस क्रममा सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सामुदायिक क्षेत्रमा लामखुट्टे प्रजनन हुने स्थानको खोजी, नष्ट गर्ने कार्य तथा सरसफाइ कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
स्थानीय तहलाई वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै समुदायको सक्रिय सहभागितामा लामखुट्टेको प्रजनन स्थल पहिचान र व्यवस्थापन गर्न निर्देशन दिइएको छ। साथै, डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य र गैरस्वास्थ्य क्षेत्रबीच नियमित समन्वय र बहुपक्षीय सहकार्यलाई पनि प्राथमिकता दिइने जनाइएको छ।
मन्त्रालयले अटो वर्कसप, टायर तथा कवाडी सामग्री भण्डारण स्थल, निर्माणाधीन भवन तथा पानी जम्ने अन्य सम्भावित स्थानको नियमित अनुगमन गरी पानी जम्न नदिने व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
अभियानका क्रममा प्रत्येक वडामा पोस्टर, ब्यानर, समूह छलफल, अभिमुखीकरण तथा स्थानीय सञ्चार माध्यममार्फत डेङ्गुको जोखिम, रोकथाम र नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। साथै, स्वास्थ्य शिक्षा सामग्री वितरण, लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने विधिबारे जानकारी तथा व्यापक प्रचारप्रसार गरिने मन्त्रालयले जनाएको छ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेका रेडियो जिङ्गल तथा सचेतनामूलक सन्देश स्थानीय एफएम र रेडियोबाट नियमित प्रसारण गरिनेछ। स्वास्थ्य आमा समूह, युवा क्लब, शिक्षक, स्वयंसेवक तथा कलेज–विश्वविद्यालयका विद्यार्थीलाई समुदायस्तरमा परिचालन गरी अभियानमा सहभागी गराउने योजना पनि रहेको छ।
विद्यालयहरूमा साथी शिक्षा कार्यक्रम, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन, वक्तृत्वकला, हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिताजस्ता कार्यक्रम सञ्चालन गरिनेछ। यस्तै, होटेल, उद्योग तथा निजी क्षेत्रसँग सहकार्य गरी डिजिटल बोर्डलगायत विभिन्न सञ्चार माध्यमबाट डेङ्गुसम्बन्धी जनचेतना विस्तार गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ज्वरोसँगै शरीरमा बिमिरा देखिने, जोर्नी वा मांसपेशी दुख्ने, टाउको वा आँखाको वरिपरि पीडा हुने, वाकवाकी लाग्ने वा बान्ता हुनेजस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा नि:शुल्क १११५ हेल्थ हेल्प लाइनमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।







