काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् । गृह मन्त्रालयको विपद् पोर्टलकाअनुसार पछिल्लो एक हप्ता (असार २२ देखि २९ गते) भित्र मात्रै देशका ५६ स्थानमा बाढी, भारी वर्षा र सडक अवरोधका कारण उच्च सतर्कता अपनाउन भनिएको छ ।
सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो राजमार्ग ठप्प भएका छन् । असार २९ गते बिहान ६:३० बजेसम्मको तथ्यांकअनुसार अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका मुख्य खण्डहरू पूर्ण रूपमा बन्द छन् ।







