काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर सूर्य विनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रुपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्य विनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







