काठमाडौं । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले निजी शैक्षिक संस्थामा लागू गर्न लागिएको ३ प्रतिशत शिक्षा समता शुल्कको व्यवस्था तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
नेविसंघकी अध्यक्ष करुणा कटुवालले विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि कार्यान्वयन गर्ने भनिएको उक्त शुल्कले विद्यार्थी तथा अभिभावकमा थप आर्थिक भार सिर्जना गर्ने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेकी छन्।
शिक्षामा समानताको उद्देश्य देखाएर अतिरिक्त आर्थिक दायित्व सिर्जना गर्नु उचित नभएको नेविसंघको धारणा छ। संघले समताको अवधारणालाई आधार बनाएर नागरिकमाथि थप शुल्कको भार थोपर्नु राज्यको कल्याणकारी चरित्र अनुकूल नभएको उल्लेख गरेको छ।
नेविसंघले विज्ञप्तिमार्फत यस्तो शुल्क व्यवस्था नीतिगत कमजोरीलाई ढाक्ने प्रयासका रूपमा आएको दाबी गर्दै यसले सर्वसाधारणको आर्थिक हितमा असर पार्ने जनाएको छ।
यसअघि निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एन-प्याब्सन, हिसान तथा अभिभावक संघ नेपालले समेत उक्त व्यवस्थाप्रति असहमति जनाउँदै विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको नेविसंघले जनाएको छ।
नेविसंघले विद्यार्थी र अभिभावकमाथि थप आर्थिक भार पर्ने गरी ल्याइएको ३ प्रतिशत शिक्षा समता शुल्क कुनै सर्तबिना तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।







