काठमाडौँ । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ सेवा सुरु गरेको छ । वडा कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरी सो सेवा सुचारु बारेमा जानकारी दिएको हो ।
वडाध्यक्ष श्रीगोपाल महर्जनले ‘तपाईँको समस्या मेरो समाधान’ भन्ने नाराका साथ सुरु गरिएको एआई कलिङमार्फत वडा कार्यालयभित्रका सबै सेवाका बारेमा जानकारी दिनुका साथै वडाभित्रका समस्या समाधानका लागि दर्ता गर्ने काम सफल हुने जानकारी दिए ।
“वडाले दिने सेवाका बारेमा एआई कलिङ सेवामार्फत २४ घण्टा नै सेवा सुचारु गरेका छौँ, कलिङमार्फत गुनासो दर्तासमेत गर्न सकिन्छ, जनप्रतिनिधि र कर्मचारीसँग वडावासीले भेट्न नसकेको अवस्थामा एआईमार्फत समस्या समाधानका लागि सहजीकरण हुन्छ । कुनै पनि सेवाका लागि दुःख पाउनुपर्दैन”, उनले भने ।
ब्लु ओभल इन्टरनेशनलका प्रतिनिधि एवं प्रविधि सेवा डेभलपर प्रदीप श्रेष्ठले नागरिक र स्थानीय सरकारबीचको समन्वयलाई सहज बनाउन यो सेवा सुरुआतले राम्रो अभ्यास भएको भन्दै एक महिनाको तयारीमा यो प्रविधिको विकास गरिएको जानकारी दिए।
एआई कलिङमार्फत हाल नेपाली भाषामा वडावासीलाई चाहिने सम्पूर्ण सूचना दिने र अनलाइनमार्फत आवाज र अक्षरमा गुनासो दर्ता गर्ने काम सम्भव हुनेछ । मल्टिपल एलएलएममा चल्ने यो प्रविधिमा बिस्तारै अरु भाषाहरू समेत थप्दै जाने वडा अध्यक्ष महर्जनले जानकारी दिए।







