काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच प्रदेश तहमा सहकार्यको वातावरण बनेसँगै कोशी प्रदेश सरकारको नेतृत्वको विषय चर्चामा आएको छ। सत्ता सहकार्यको सम्भावना बढेपछि नेकपाले कोशी प्रदेशको मुख्यमन्त्री पदमा आफ्नो दाबी अघि सारेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि दुई दलबीच सहकार्य गरेर अघि बढ्ने समझदारी बनेको बताइएको छ। यससँगै प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरण निर्माणको प्रक्रिया अघि बढेको हो।
वाम गठबन्धनको सम्भावना बलियो भएपछि नेकपाले कोशी प्रदेशमा नेतृत्व परिवर्तनको विषय उठाएको छ। यसअघि प्रदेश तहमा बनेको एमाले-काँग्रेस सहकार्य कमजोर भएपछि वैकल्पिक समीकरणका रूपमा एमाले र नेकपाबीच सहकार्यको प्रयास अघि बढेको हो।
नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताएका छन्। एमालेले यसअघि पटक–पटक प्रदेशको नेतृत्व गरिसकेको उल्लेख गर्दै अब सहकार्यको क्रममा नेतृत्वको अवसर नेकपाले पाउनुपर्ने उनको भनाइ छ।
काँग्रेसलाई समेत समीकरणमा समेट्ने प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेपछि वाम ध्रुवीकरणतर्फ अघि बढ्नुपर्ने अवस्था आएको आङ्बोले बताएका छन्।
हाल कोशी प्रदेश सरकारको नेतृत्व एमाले सचिव हिक्मतकुमार कार्कीले गरिरहेका छन्। यसअघि एमाले र काँग्रेसबीचको प्रदेशस्तरीय सहकार्यमा पनि मुख्यमन्त्री पदको बाँडफाँट मुख्य विवादको विषय बनेको थियो। आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार काँग्रेसले नेतृत्व पाउने समय नजिकिँदा मुख्यमन्त्री परिवर्तनसम्बन्धी विषयमा विवाद उत्पन्न भएको थियो।
प्रदेश सरकारको नेतृत्व फेरबदल र नयाँ समीकरण निर्माणका विषयमा दलहरूबीच थप छलफल जारी रहेको बताइएको छ।







