काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव इजिप्टको ७४औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ ललितपुरमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
नेपालका लागि इजिप्टका राजदूत शरिफ एल दिवानीद्वारा आयोजित उक्त समारोहमा यहाँस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, कूटनीतिक समुदायका सदस्य, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
त्यस अवसरमा राजदूत एल दिवानीले नेपाल र इजिप्टबीच करिब सात दशकदेखि सौहार्दपूर्ण कूटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरे । उनले संयुक्त राष्ट्रसंघ तथा असंलग्न आन्दोलनलगायत अन्तरराष्ट्रिय मञ्चमा दुवै मुलुकबीच घनिष्ठ सहकार्य रहँदै आएको तथा बहुपक्षीयता, संवाद र विवादको शान्तिपूर्ण समाधानप्रति दुवै देश प्रतिबद्ध रहेको बताए ।
हालका वर्षहरूमा शिक्षा, संस्कृति, पर्यटन, कृषि, व्यापार, लगानी तथा क्षमता अभिवृद्धिलगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार हुँदै गएको उनको भनाइ थियो । उनले अल–अजहर विश्वविद्यालयसहित इजिप्टका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएको जानकारी दिए।
राजदूत एल दिवानीले नेपाल र इजिप्टका परराष्ट्र मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रअन्तर्गत गत महिना सम्पन्न पछिल्लो बैठक सफल भएको उल्लेख गर्दै नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र इजिप्टको इन्स्टिच्युट अफ डिप्लोमेटिक स्टडिजबीच समझदारी पत्रसहित विभिन्न सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए ।
उनले ‘इजिप्ट भिजन २०३०’ अन्तर्गत पूर्वाधार, यातायात, ऊर्जा, कृषि, स्वास्थ्य, शिक्षा तथा डिजिटल रूपान्तरणका क्षेत्रमा व्यापक सुधार र लगानी भइरहेको उल्लेख गरे । साथै नवीकरणीय ऊर्जा, लगानी प्रवर्द्धन, पर्यटन तथा क्षेत्रीय व्यापारमा इजिप्टले उल्लेखनीय प्रगति हासिल गरेको उनले बताए ।
राजदूत एल दिवानीले मध्यपूर्वमा शान्ति, स्थायित्व र संवाद प्रवर्द्धनप्रति इजिप्ट प्रतिबद्ध रहेको दोहोर्याउँदै व्यापार, पर्यटन, शैक्षिक आदानप्रदान तथा संस्थागत सहकार्यका माध्यमबाट नेपाल–इजिप्ट मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।






