काठमाडौँ । बांङ्लादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमार्फत उनको पदत्यागको औपचारिक जानकारी दिइएको हो।
७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रप्रमुखको औपचारिक जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको कार्यकालका दौरान सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएसँगै बांङ्लादेशमा राजनीतिक अस्थिरताको अवस्था सिर्जना भएको थियो।
राष्ट्रपतिका प्रेस सचिवले जारी गरेको वक्तव्यअनुसार हालै गरिएको स्वास्थ्य परीक्षणबाट शाहावुद्दिनमा ‘अटोनोमिक न्युरोप्याथी’ रोग पुष्टि भएको छ। उक्त स्वास्थ्य समस्याका कारण आफू कहिले काहीँ केही समयका लागि चेतनाविहीन हुने अवस्था आउने उनले उल्लेख गरेका छन्।
उनको राजीनामापछि शेख हसिनाले योजनाअनुसार स्वदेश फर्किने भनिएको समय आउन अझ करिब पाँच महिना बाँकी रहँदा राज्यको उच्च तहमा उनका निकट सहयोगी कोही पनि बाँकी नरहने अवस्था बनेको छ।
यसअघि हसिनाको नेतृत्वको आवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सरकार परिवर्तनसँगै उक्त दलका धेरै नेता तथा कार्यकर्ता पक्राउ परेका वा सार्वजनिक जीवनबाट टाढा रहेका बताइएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ राष्ट्रपति चयन नभएसम्मका लागि सभामुखले कार्यवाहक राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ।






