सर्लाही । सर्लाही प्रहरीले १३ क्विन्टल अदुवासहितका बोराभित्र लुकाइएको ३३० किलोग्राम लागूऔषध गाँजा र ओसारपसारमा प्रयोग भएको पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ।
सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फार्ममा पिकअप गाडीबाट गाँजा झारिँदै गरेको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कुखुरा फार्ममा छापा मारेर खानतलासी गरेको थियो। त्यस क्रममा २६ वटा बोरामा राखिएको १३ क्विन्टल अदुवा तथा त्यसैभित्र १९ वटा पोकामा लुकाइएको ३३० किलोग्राम गाँजा बरामद गरिएको एसपी पौडेलले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट बलरा नगरपालिका–७ डुमरिया निवासी २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरेको छ। अदुवा र गाँजा ओसारपसारमा प्रयोग भएको बागमती प्रदेश ०१–०२६ च २८८६ नम्बरको पिकअप गाडीसमेत नियन्त्रणमा लिइएको छ।
बरामद अदुवा, गाँजा र पिकअप गाडी तथा पक्राउ परेका राउतका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






