काठमाडौँ । प्यालेस्टिनी गाउँ टेल नजिकै भएको एक घातक घटनापछि इजरायली रक्षा बल (आईडीएफ)ले वेस्ट बैंकमा ‘वृहत्’ सैन्य कारबाहीको तयारी भइरहेको जानकारी दिएको छ ।
आईडीएफले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘वृहत् आतंकवाद विरोधी परिचालन’ का लागि तयारी भइरहेको जनाएको छ । पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सैनिकहरूको बिदा रद्ध गरिएको छ भने सम्बन्धित क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको सेनाले उल्लेख गरेको छ । इजरायली सेनाकाअनुसार प्यालेस्टिनीहरूले टेल गाउँ नजिकै इजरायली पदयात्रीहरूको एक समूहमाथि आक्रमण गरेका थिए ।
सो क्रममा आक्रमणकारीहरूले एक सुरक्षाकर्मीको हतियार खोसेर अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा एक इजरायलीको मृत्यु भएको सेनाले दाबी गरेको छ ।
यसैबीच, प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी ‘वाफा’ ले भने इजरायली बसोवासकर्ताहरूद्वारा गाउँमा गरिएको आक्रमणका क्रममा इजरायली सेनाको कारबाहीमा परी चार जना प्यालेस्टिनी मारिएको रिपोर्ट सार्वजनिक गरेको छ ।
मृतक इजरायली नागरिकको अन्त्येष्टिका क्रममा इजरायली र प्यालेस्टिनीहरूबीच हुनसक्ने सम्भावित झडप र तनावलाई रोक्न आईडीएफले सुरक्षा व्यवस्था थप कडा पारेको जनाएको छ ।
प्यालेस्टिनी सञ्चारमाध्यमहरूका अनुसार उक्त झडपपछि इजरायली बसोबासकर्ताहरू प्यालेस्टिनी सहरहरूमा प्रवेश गरेका कम्तीमा दुई वटा घटनाहरू प्रतिवेदन गरिएका छन्, जसमा परी दुई प्यालेस्टिनी घाइते भएका छन् ।






