काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति,संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् ।
मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन्। साथै,घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन् ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन,घाइतेहरूको उपचारको व्यवस्था मिलाउन तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक समन्वय सुरु गरेकी छन् ।
मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेकी छन् ।
उनले सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै यस कठिन घडीमा सबै पक्षले धैर्य,संयमता र जिम्मेवारीका साथ प्रस्तुत भएर शान्ति कायम राख्न सहयोग गर्न पनि अपिल गरेकी छन् ।






