काठमाडौँ । विज्ञापन बोर्डले पूर्वस्वीकृति नलिई सञ्चारमाध्यमबाट प्रसारण भइरहेका विज्ञापन सामग्रीलाई कानुनी प्रक्रियामा ल्याउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
बोर्डले सार्वजनिक गरेको सूचनामार्फत विज्ञापनकर्ताको आवश्यक विवरण, चेतनामूलक सन्देश तथा अन्य अनिवार्य सूचना समावेश नगरी, तथ्यहीन, अतिरञ्जित वा उपभोक्तालाई भ्रममा पार्ने खालका सामग्री प्रसारण भइरहेको पाइएको जनाएको छ ।
बोर्डका अनुसार कतिपय विज्ञापन सामग्रीमा विज्ञापनकर्ताको नाम, ठेगाना र आवश्यक सावधानीसम्बन्धी सन्देश उल्लेख नभएको तथा प्रचलित कानुनले निषेध गरेका विषयवस्तु समेत समावेश भएको देखिएको छ ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को व्यवस्था तथा विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ अनुसार नेपालमा प्रसारण हुने श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्रीको परीक्षण र नियमन गर्ने अधिकार विज्ञापन बोर्डमा रहेको छ ।
बोर्डले नेपालभित्र प्रसारण गरिने सबै प्रकारका विज्ञापन सामग्री प्रसारणअघि परीक्षण गराई अनुमति लिनुपर्ने स्पष्ट पारेको छ । यसअघि परीक्षण नगरी प्रसारण भइरहेका विज्ञापन सामग्रीलाई समेत तत्काल परीक्षण प्रक्रियामा ल्याई कानुनी मापदण्ड पूरा गर्न आग्रह गरिएको छ ।
सूचनामा कानुन विपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन तथा आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित सञ्चारमाध्यम, विज्ञापनदाता र सरोकारवाला निकायलाई आग्रह गरिएको छ ।
बोर्डले कानुनी व्यवस्था उल्लंघन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने समेत जनाएको छ ।







