काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३० वर्षीय मुन्ना चौधरी, ललितपुर, ललितपुर महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४७ वर्षीय भुमिका देवान, काठमाडौँ महानगरपालिका-१० बस्ने भोजपुर घर भएका ४३ वर्षीया विमला थापा, ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने दैलेख घर भएका ४१ वर्षीय केशव बहादुर शाही र भक्तपुर सूर्य विनायक नगरपालिका-२ बस्ने मोरङ घर भएका ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार मुन्नाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६६ हजार रुपैयाँ, भुमिकाले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ, बिमलाले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४८ हजार रुपैयाँ, केशवले जर्जिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८८ लाख ५० हजार रुपैयाँ र बिनुले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।
सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।






