नेपाल विविधताले भरिएको सुन्दर देश हो। हिमालदेखि तराईसम्म फैलिएको भूगोल, विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवनशैली नेपालको पहिचान हुन्। विविधता नेपालको शक्ति हो। नेपाली समाजमा हिन्दू, बौद्ध, मुस्लिम, किराँत, क्रिश्चियनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायहरू लामो समयदेखि सहअस्तित्व, सहकार्य र पारस्परिक सम्मानका साथ बस्दै आएका छन्। त्यसैले नेपालको वास्तविक सुन्दरता एउटै रङमा होइन, अनेकौँ रङको मिलनमा छ। यसको मर्म बुझ्नु जरुरी छ। तर पछिल्ला समयका विभिन्न सामाजिक, राजनीतिक, धार्मिक तथा सामुदायिक विवाद र झडपहरूले हाम्रो यही सामाजिक सद्भावमाथि चुनौती खडा गरिरहेका छन्।
सुनसरीको देवानगञ्जमा हालै देखिएको तनावपूर्ण अवस्थाले एउटा गम्भीर प्रश्न उठाएको छ। हामी कतिसम्म असहिष्णु बन्दैछौँ भन्ने विषय अत्यन्त चिन्ताको विषय हो। कुनै पनि मुलुकको सबैभन्दा महत्वपूर्ण विषय त्यहाँका नागरिक हुन्। नागरिक चेतना अझ बढी महत्वपूर्ण हुन्छ। शान्ति र विकासका लागि सचेत नागरिकको अहम भूमिका रहन्छ।
कुनै पनि देशका राजनीतिक नेतृत्व, सरकारका नेतृत्व वा प्रशासनिक नेतृत्व त्यहाँको समाजकै प्रतिबिम्ब हुन्। सामाजिक सद्भाव कायम गर्न सबै पक्षको दायित्व रहन्छ। हामी सबैभन्दा पहिले मानव भएर सोचौँ, विवेकशील बनौँ, नेपाली भएर सोचौँ, सहिष्णु बनौँ, एकले अर्कालाई सम्मान गरौँ। विनाशले कसैलाई लाभ दिलाउँदैन। समाचार वा सामाजिक सञ्जालमा आतंक नफैलाऔँ, नागरिक दायित्व मनन गरौँ, शान्ति कायम गरौँ। हामीले विवादलाई संवादबाट समाधान गर्ने संस्कार विकास गर्दैछौँ कि सानो मतभेदलाई ठूलो द्वन्द्वमा परिणत गर्ने बाटोमा जाँदैछौँ भन्ने प्रश्न गहन बनेको छ। समस्यालाई विकराल बनाउनेभन्दा समाधान गर्न सबैले तत्परता देखाउनु आवश्यक छ।
नेपालको संविधान २०७२ ले सामाजिक सद्भाव, समानता, स्वतन्त्रता, न्याय र राष्ट्रिय एकतालाई अत्यन्त महत्वपूर्ण आधारका रूपमा स्वीकार गरेको छ। संविधानको प्रस्तावनाले स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको संरक्षण गर्दै सामाजिक न्याय, समानुपातिक समावेशिता र समतामूलक समाज निर्माण गर्ने लक्ष्य राखेको छ। संविधानले प्रत्येक नागरिकलाई कानुनको दृष्टिमा समान मानेको छ। धर्म, वर्ण, लिङ्ग, जात, जाति वा वैचारिक आस्थाका आधारमा भेदभाव गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ। विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्वक भेला हुने अधिकारलाई पनि मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ। हामीलाई आफ्ना विचार राख्ने अधिकार छ, तर त्यो अधिकार प्रयोग गर्दा अरूको अधिकार, सम्मान, सुरक्षा र स्वतन्त्रता नखोसियोस् भन्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ।
पृथ्वीनारायण शाहले नेपाललाई “चार जात छत्तीस वर्णको साझा फूलबारी” का रूपमा चित्रण गरेको भनाइ आज पनि सामाजिक एकताको सन्दर्भमा अर्थपूर्ण छ। उक्त अभिव्यक्तिको मूल सन्देशलाई आजको लोकतान्त्रिक नेपालमा विविधताबीचको सहअस्तित्वका रूपमा बुझ्न सकिन्छ। आजको नेपाल अझ व्यापक र समावेशी छ। यसलाई हिमाल, पहाड र तराईका नागरिक, विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ग र समुदाय सबैको साझा घरका रूपमा बुझ्नुपर्छ। हामी सबै एकै फूलबारीमा अट्न सक्नु नै महानता हो।
हामीलाई द्वन्द्व र विभाजनको मूल्य निकै महँगो हुने पाठ इतिहासले राम्रोसँग सिकाएको छ। राजनीतिक परिवर्तनका विभिन्न चरणमा आन्दोलन, संघर्ष, हिंसा, द्वन्द्व र अस्थिरताका कारण देशले ठूलो मानवीय, सामाजिक तथा आर्थिक क्षति व्यहोरेको छ। लामो सशस्त्र द्वन्द्वपछि नेपाल शान्ति प्रक्रियामा प्रवेश गर्यो र संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यो। त्यसैले आजको पुस्ताले विगतका पीडाबाट शिक्षा लिन सिक्नुपर्छ। हालसालै सुनसरीको देवानगञ्जमा देखिएको तनावपूर्ण परिस्थितिले पनि सानो विवादले कसरी ठूलो सामाजिक तनावको रूप लिन सक्छ भन्ने गम्भीर पाठ दिएको छ। उपलब्ध समाचारअनुसार विवाद बढ्दै जाँदा हिंसात्मक अवस्था सिर्जना भएको र प्रशासनले कर्फ्यु लगाउनुपर्ने परिस्थिति आएको थियो। यस्ता घटनालाई कुनै जात, धर्म, समुदाय वा राजनीतिक समूहको सामूहिक चरित्रसँग जोडेर हेर्नुहुँदैन। सामाजिक सद्भाव कुनै पनि हालतमा भड्किन दिनुहुँदैन। यसको व्यापक असर पर्न सक्छ।
यस्ता घटनाबाट राजनीतिक दल तथा नेतृत्वले पनि ठूलो पाठ सिक्नुपर्छ। राजनीतिक दलहरू जनतालाई जोड्ने संस्था हुन्। जनतालाई संयमित हुन सबै दल तथा पक्षहरूले आग्रह गर्नुपर्छ। नेपालीलाई फुटाएर होइन, जुटाएर मात्र नेपालीको हित गर्न सकिन्छ। राजनीतिक लाभका लागि जातीय, धार्मिक, क्षेत्रीय वा सामुदायिक संवेदनशीलतालाई उचाल्ने प्रवृत्ति कदापि हुनुहुँदैन। सबै राजनीतिक दलका स्थानीय नेतृत्वले साझा पहल गरेर शान्ति समिति, नागरिक समाज, धार्मिक तथा सामुदायिक अगुवा र प्रशासनबीच संवादको वातावरण बनाउन सकियो भने विवादहरू सहजै समाधान गरी सामाजिक सद्भाव कायम गर्न सकिन्छ।
नागरिकको सुरक्षा, कानुनको निष्पक्ष कार्यान्वयन र सामाजिक न्याय सुनिश्चित गर्नु राज्यको मूल दायित्व हो। सुरक्षा निकायले कानुन कार्यान्वयन गर्दा निष्पक्षता, संयमता र मानव अधिकारको सम्मानलाई केन्द्रमा राख्नुपर्छ। दोषी जोसुकै भए पनि कानुनको दायरामा ल्याइनुपर्छ र निर्दोष नागरिकलाई अनावश्यक पीडा हुनु हुँदैन। सामाजिक सद्भाव कायम गर्ने जिम्मेवारी केवल सरकार र राजनीतिक दलको मात्र होइन। प्रत्येक नागरिकको पनि दायित्व हो। संविधानले नागरिकलाई आफ्ना हक प्रयोग गर्दा अरूको हकको सम्मान गर्नुपर्ने जिम्मेवारी दिएको छ। आज सामाजिक सञ्जाल नागरिकको अभिव्यक्तिको शक्तिशाली माध्यम बनेको छ। तर अपुष्ट सूचना, अफवाह, घृणात्मक अभिव्यक्ति, जातीय वा धार्मिक टिप्पणी र उत्तेजक भिडियोले केही मिनेटमै ठूलो तनाव सिर्जना गर्न सक्छ। त्यसैले कुनै समाचार वा सामाजिक सञ्जालको सामग्री सेयर गर्नुअघि सत्यता जाँच्नु नागरिकको कर्तव्य हो।
संवाद, मध्यस्थता, सहमति र कानुनको बाटो छोडेर ढुङ्गा, लाठी, आगजनी, तोडफोड वा हिंसाको बाटो रोज्नु समस्याको समाधान होइन। एउटा सार्वजनिक सवारी जलाउँदा वा पसल तोड्दा त्यसको क्षति अन्ततः नागरिकले नै बेहोर्नुपर्छ। सार्वजनिक सम्पत्ति जनताको सम्पत्ति हो। यसले सबैलाई क्षति पुर्याउँछ। यस्ता गतिविधि नगर्न र नगराउन सबै सजग र सचेत बन्नु अपरिहार्य छ। विश्वका अन्य देशका अनुभवले पनि सामाजिक सद्भावको महत्व देखाउँछन्। दक्षिण अफ्रिकाले लामो रंगभेदको इतिहासपछि संवाद र मेलमिलापलाई महत्व दिँदै नयाँ सामाजिक सम्बन्ध निर्माण गर्ने प्रयास गर्यो। नेपालले पनि आफ्नो मौलिक सामाजिक संरचना, शान्तिको सन्देश, समुदायबीचको सहअस्तित्वको परम्परा र लोकतान्त्रिक मूल्यलाई जोडेर आफ्नै सामाजिक सद्भाव कायम गर्दै विकासमा एक भएर अगाडि बढ्नुपर्छ।
नेपाललाई अहिले झगडा होइन, स्थिरता चाहिएको छ। अविश्वास होइन, विश्वास चाहिएको छ। हिंसा होइन, शान्ति चाहिएको छ। विनाश होइन, विकास चाहिएको छ। रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन र आर्थिक समृद्धिका लागि स्थिर सामाजिक वातावरण आवश्यक हुन्छ। नेपालको भविष्य केवल संविधान, सरकार वा राजनीतिक दलले मात्र निर्धारण गर्ने होइन। प्रत्येक नागरिकको व्यवहारले पनि निर्धारण गर्छ। त्यसैले कुनै पनि मुलुकको विकासका लागि नागरिक संयमता निकै महत्वपूर्ण मानिन्छ। शक्ति हाम्रो विविधतामा छ भने कमजोरी आपसी अविश्वासमा। विविधतामा विभाजन होइन, एकता खोज्ने, अधिकारसँगै कर्तव्य बुझ्ने र विकासका लागि शान्ति तथा सद्भावलाई आत्मसात् गर्ने संस्कार बसाल्नु आवश्यक छ। फरक विचारको सम्मान गर्छु, अफवाह फैलाउँदिन, हिंसालाई समर्थन गर्दिन, कानुनको सम्मान गर्छु, सामाजिक सद्भाव कायम राख्न सकारात्मक प्रयत्न गर्छु भन्ने संकल्प सबैले आ–आफ्नो स्थानबाट गरौँ।






