काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिरहाले लहान नगरपालिका क्षेत्रका केही स्थानमा समेत कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासनले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो।
यसअघि सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कर्फ्यु आदेश जारी गरिएको थियो। गोलबजार–३ स्थित कसहा खोलादेखि चोहर्वा चोकसम्म, गोलबजार–६ को सैनिक चोकदेखि गोलबजार–४ क्षेत्रमा पर्ने भूभागमा कर्फ्यु लागू गरिएको थियो।
पछिल्लो निर्णयअनुसार लहान नगरपालिकाको पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्रमा कर्फ्यु विस्तार गरिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटेलको पश्चिम क्षेत्र) सम्म तथा दक्षिणतर्फ पूर्व-पश्चिम राजमार्गबाट ५०० मिटर आसपासको क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको छ।







