काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकार तथा राजनीतिक व्यवस्थाविरुद्ध पुनः आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना राजनीतिक एजेन्डा सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका हुन्।
प्रसाईँले वर्तमान लोकतान्त्रिक व्यवस्थामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आधारभूत अधिकारमाथि प्रतिबन्ध लगाइएको दाबी गरे। उनले लोकतन्त्रको अभ्यासका नाममा नागरिकका अधिकार सीमित हुँदै गएको आरोपसमेत लगाए।
पत्रकार सम्मेलनमा उनले आफ्नो आन्दोलन कुनै धर्म वा समुदाय विशेषविरुद्ध लक्षित नभई राजनीतिक व्यवस्था परिवर्तनका लागि केन्द्रित रहेको बताए। साथै, संविधान संशोधनमार्फत वैदिक सनातन हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्बहाली आफूहरूको प्रमुख एजेन्डा रहेको धारणा पुनः व्यक्त गरे।
उनले आफ्ना मागबारे अध्ययन तथा समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग आग्रह गर्दै त्यसतर्फ पहल नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए।
प्रसाईँले सरकार र सत्तारुढ पक्षले आफ्ना अनुकूल व्यक्तिलाई अघि सारेर कृत्रिम सहमतिको वातावरण सिर्जना गर्न खोजेको आरोप लगाए। साथै, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी हो’ भन्ने सन्देश स्मरण गर्दै राष्ट्रिय एकताको पक्षमा आफू रहेको बताए।
प्रसाईँले देशको अस्तित्व, आफ्नो राजनीतिक एजेन्डा तथा हिन्दु राष्ट्र पुनर्बहालीको पक्षमा उभिन बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साथ दिन आग्रह गरेका छन्।






