काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूले विगतमा विद्यालय जाँदा खाली खुट्टा हिँडेको स्मरण गर्दै सोमबार फेसबुकमा गरेको पोष्टपछि सामाजिक सञ्जालमा त्यसबारे मिश्रित प्रतिक्रिया देखिएको छ। ती प्रतिक्रियामध्ये आलोचनात्मक टिप्पणीको संख्या बढी देखिएको छ।
तामाङले २१ वर्षअघि एसएलसी परीक्षा दिन पहिलो पटक जुत्ता लगाएको उल्लेख गर्दै अहिले पनि कहिलेकाहीँ खाली खुट्टा हिँड्दा मानिसहरूले प्रश्न गर्ने गरेको र त्यसैको जवाफ स्वरूप उक्त पोष्ट लेखेको बताएकी छन्।
उनको पोष्टमुनि आएका धेरै प्रतिक्रियामा वर्तमान सार्वजनिक जिम्मेवारीसँग विगतको संघर्ष जोडेर प्रस्तुत गर्न नहुने धारणा व्यक्त गरिएको छ।
एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, “संघर्षको कथा सुनाएर वर्तमान जिम्मेवारीबाट उम्किन मिल्दैन, माननीयज्यू। हिजो तपाईँ अभियन्ता हुँदा खाली खुट्टा हिँड्नु तपाईँको व्यक्तिगत छनोट थियो… जनताले तपाईँको विगत होइन, वर्तमान जिम्मेवारी र आचरण हेर्छन्। पदको गरिमा जोगाउनु नै साँचो नेतृत्वको परिचय हो।”
अर्का प्रयोगकर्ताले “1 लाखको साडी अनि खुट्टा चैँ खाली नाटक” भन्दै टिप्पणी गरेका छन्।
यस्तै, अर्का प्रयोगकर्ताले “ए मेरो अन्तरास्ट्रिय बहिनी – नौटंकी बढी भो । … तपाईँ केवल स्टन्ट गर्नको लागि फोटो खिच्नको लागि मात्रै चप्पल नलगाएका हुन् ।” भनेर टिप्पणी गरेका छन्।
अर्को प्रतिक्रियामा “हुन त मान्छे नाङ्गै आको हो र नाङ्गै नै जाने हो तर यो स्वाङ चैँ नगरौँ अहिले, काम गर्न पठाको काम नै गरौँ है माननीय (अ-माननीय) जी” भनिएको छ।
त्यस्तै, अर्का प्रयोगकर्ताले “चाहिने भन्दा बढी चटक नि खासै ठिक हुन्न… कम्तीमा पदिय मर्यादाको पनि ख्याल गरेर हिँड्न पर्छ” भन्ने टिप्पणी गरेका छन्।
यद्यपि सबै प्रतिक्रिया आलोचनात्मक भने थिएनन्। केही प्रयोगकर्ताले तामाङको संघर्षपूर्ण विगतको प्रशंसा गर्दै “एकदमै मन छोयो बहिनी।” भन्ने प्रतिक्रिया दिएका छन्।
अर्का प्रयोगकर्ताले “हाम्रो समाज भनेको खुट्टा तान्ने प्रविधि छ … तपाइ आफ्नो काम गरी रहनु माननीय ज्यु…. हाम्रो साथ छ हजुर लाई” भन्दै समर्थन जनाएका छन्।
पछिल्लो समय विभिन्न विषयलाई लिएर सांसदहरू सामाजिक सञ्जालमा भाइरल हुने क्रम बढ्दो छ। आशिका तामाङको हकमा भने उनी सांसद निर्वाचित हुनुअघि नै आफ्ना कतिपय अभिव्यक्ति र व्यवहारका कारण बेला-बेलामा चर्चा र आलोचनाको केन्द्रमा पर्दै आएकी छन्। रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पनि संसदभित्रका अभिव्यक्ति, सार्वजनिक कार्यक्रममा दिने प्रतिक्रिया तथा सामाजिक सञ्जालका गतिविधिका कारण उनी समय–समयमा चर्चामा आउने गरेकी छन्।






