काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्यांक नै सरकारसँग नरहेको आरोप लगाएका छन्।
मंगलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् । सांसद कार्कीले २३ लाख सिलिन्डर कहाँ गए भन्ने विषयमा सरकारसँग विश्वसनीय तथ्यांक नै नरहेको उल्लेख गरे ।
२३ लाख रिफिल हुनुपर्ने ग्यास सिलिण्डर कहाँ छ ? उनको प्रश्न छ । उनले बजार अनुगमन गर्न नियामक निकाय चुकिरहेको बताए । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति भइरहेको दाबी गरे पनि उपभोक्ता भने अझै लाइनमा बस्न बाध्य रहेको बताए ।
उनले निगमले टेकुबाट मात्रै ग्यास वितरण गरेको उल्लेख गर्दै सबै डिपोबाट ग्यास वितरण गर्न आग्रह गरे । सांसद कार्कीले वितरण प्रणालीलाई सुधार गर्न पनि आग्रह गरे । यस अगाडी समितिको बैठकमा निगमले नै एक साताभित्र समस्या समाधान हुने आश्वासन दिए पनि १९ दिन बितिसक्दा समेत अवस्था नफेरिएको उनको आरोप छ ।
उनले नेपालमा पेट्रोलियम क्षेत्र सञ्चालनका लागि कानून निर्माणमा जोड दिए । हालसम्म पनि उक्त कानुन नबन्नु गम्भीर विषय रहेको उल्लेख गर्दै उनले कानुनी आधारबिना कसैलाई कारबाही गर्न नसकिने बताए ।
उनले भने, ‘२३ लाख सिलिन्डर रिफिल हुनुपर्ने त्यो भएन भन्ने कुरा आयो, २३ लाख सिलिन्डर कहाँ गयो ? हामीसँग डाटा पनि छैन ? डाटा कलेक्सन गरेर यो २३ लाख सिलिन्डर कहाँ गयो पत्ता लगाउन पर्दैन ? फेरी ग्यास आपूर्ति पनि २० प्रतिशत बढी आएको छ, तर उपभोक्ता गएर लाइन बसिरहेका छन्, पाएका छैनन् । सिलिन्डर छ भने कोही ट्याक्सी लिएर ग्यास आउँदैन । फेरि अघि कस्तो गैर जिम्मेवारी कुरा गर्नुभयो भने तपाईँको टेकुमा ग्यास बाँडेर हुन्छ ? भक्तपुरको मान्छे, कीर्तिपुरको मान्छे, तपाईँको बसपार्कको मान्छे कुना कुनाबाट तपाईँको टेकुमा लाइन बस्न आउँछ ? यस्तो गैर जिम्मेवारी कुरा गरेर मैले टेकुबाट दिइराखेको छु भनेर तपाईँले भन्न पाइन्छ । यो डिस्ट्रिब्युसनमा किन चुक्नुभयो ? चुक्नु नै हुँदैन । आफैँ स्वीकारिराख्नु भएको छ, डिस्ट्रिब्युसनमा चुक्यो भनेर किन चुक्नुभयो ? अब सुधार्ने हो कि हैन ? सबैभन्दा लाजमर्दो कुरा अहिलेसम्म यो पेट्रोलियमको कानुन नै रहेनछ । कानून नै नभएपछि कसलाई के को कारबाही गर्ने ? यहाँ सरकार र तीन थरी हुनुहुन्छ, यहाँ तिनै थरीको कुरा बाझिएको छ ।’
दशैँ–तिहार नजिकिँदै गएको अवस्थामा ग्यास आपूर्ति समस्या समाधान नभएमा थप संकट उत्पन्न हुन सक्ने उनले चेतावनी दिए । सांसद कार्कीले बजार अनुगमन प्रभावकारी बनाउन पनि सरकारसँग माग गरे । उनले सेटिङका आधारमा नभई उपभोक्ताको हितलाई केन्द्रमा राखेर अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।






