सर्लाही । पर्सा गाउँपालिका–२ को संग्रामपुर चोकस्थित एक किराना पसलमा नक्कली नोट चलाउन खोजेको आशंकामा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बेला थाना–९, नारगा टोलका करिब ३० वर्षीय अब्दुल समसद छन्।
सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार समसदले चन्दन झाको किराना पसलमा रेडबुल किनेर भुक्तानीका लागि एक हजार रुपैयाँको नोट दिएका थिए। नोट शंकास्पद देखिएपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
घटनास्थल पुगेको प्रहरीले समसदलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यस क्रममा उनको साथबाट नक्कली भएको आशंका गरिएका एक हजार रुपैयाँ दरका ११ थान नेपाली नोट र सक्कली नेपाली नगद ६ हजार ८३० रुपैयाँ बरामद भएको गौतमले बताए।
समसदलाई मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





