काठमाडौँ । सर्लाहीको पर्सा गाउँपालिका-६ स्थित सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको १३ लाख रुपैयाँ नगदसहित दुई जना नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल बिओपी संग्रामपुरबाट खटिएको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँचका क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखियालाई नियन्त्रणमा लिएको प्रहरी बलले जनाएको छ । उनीहरूको साथबाट १३ लाख रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका दुवैलाई बरामद रकम सहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ। रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






