काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मुलुकमा देखिएका धार्मिक विवाद र सामाजिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संविधान र त्यसअन्तर्गत अपनाइएका केही नीतिहरू नै पछिल्ला समस्याको कारण रहेको दाबी गरे ।
उनले २०६२–६३ को राजनीतिक परिवर्तनपछि अवलम्बन गरिएको मार्गको पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै हिन्दु राष्ट्रको मागलाई पार्टीले संसद् र सडक दुवै तहबाट निरन्तर उठाइरहने बताए ।
सुनसरीमा धर्मसँग सम्बन्धित विषयलाई लिएर भएको पछिल्लो घटनाप्रति दुःख व्यक्त गर्दै लिङ्देनले सामाजिक सद्भाव कायम राख्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा प्रभावित पक्षलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषता भएको मुलुक रहेको उल्लेख गर्दै उनले धार्मिक सहिष्णुता नेपाली समाजको महत्वपूर्ण पहिचान भएको बताए । धर्मका नाममा हुने विवादले सामाजिक एकता र सद्भावमा असर पार्ने उनको भनाइ थियो ।
लिङ्देनले संसद् र समाजमा देखिएका विभिन्न विवादको मूल कारण वर्तमान राजनीतिक व्यवस्था र नीतिगत दिशासँग जोडिएको राप्रपाको निष्कर्ष रहेको बताए । उनले नेपालको ऐतिहासिक तथा सांस्कृतिक पहिचान कायम राख्न हिन्दु राष्ट्र पुन:स्थापना गर्नुपर्ने पार्टीको धारणा रहेको दोहोर्याए ।
यसैबीच, प्रदेश सरकार गठनसम्बन्धी विषयमा राप्रपाको भूमिका परिस्थितिअनुसार तय हुने अध्यक्ष लिङ्देनले बताए । उनले आवश्यक अवस्था आए पार्टीले उपयुक्त निर्णय गर्ने स्पष्ट पारे ।






