काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नियत सफा र जिम्मेवारीप्रति इमान्दारिता भए जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जालमार्फत नयाँ सरकार बनेदेखि नै रुग्ण र वर्षौँदेखि बन्द रहेका, घाटामा थलिएका अवस्थामा रहेका राष्ट्रिय उद्योग तथा संस्थानहरूलाई पुनर्जीवित गराउन निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिइएको उल्लेख गरेका छन्।
“जब नियत सफा हुन्छ र जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन् । नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुन: जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्दै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्दै आएको छ”, प्रधानमन्त्री शाहले भनेका छन्, “त्यही इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको ‘टिमवर्क’ का कारण केही राष्ट्रिय उद्योग तथा संस्थानमा आशालाग्दा परिणाम देखिन थालेका छन् ।”
उनले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुँदै निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वय गर्न सके चुनौतीपूर्ण अवस्थामा पनि सुधारका नयाँ ढोका खुल्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा भएका सुधारका प्रयास र प्राप्त उपलब्धिलाई प्रस्तुत गर्दै इमान्दार प्रयास, कानुनको कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुन: सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले सार्वजनिक गरेका उद्योग एवं संस्थानको विवरण यस प्रकार छ:
नेपाल औषधि लिमिटेड
वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा रु.२ करोड ३८ लाखको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आएको हो। कम्पनी गत आर्थिक वर्षमा रु।३ करोड नाफा आर्जन गर्न सफल भएको छ ।
चालु आर्थिक वर्षमा रु.३० करोडको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ । सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका नि:शुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
सोही लक्ष्यअनुरूप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।
हेटौँडा कपडा उद्योग
वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परीक्षण उत्पादनपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्नेछ ।
तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत सुरु भइसकेको छ ।
नेपाल वायुसेवा निगम
नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षको चैतदेखि असारसम्म रु.६ अर्ब २७ करोड ६३ लाख आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु.१ अर्ब १० करोड २१ लाखले बढी हो ।
यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगिता (अकुपेन्सी)बढेर ८६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा अकुपेन्सी ६ प्रतिशतले बढेको हो।
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको रु.१ अर्ब ६ करोड १९ लाख किस्तासमेत यसै अवधिमा भुक्तानी गरिएको छ ।
दुग्ध विकास संस्थान
दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्रलाई आठ महिनाको अवधिबाट घटाएर दुईदेखि तीन महिनामा झारेको छ । यसअघि रु।७२ करोड रहेको बक्यौता रकम अहिले रु।३५ करोडमा झारिएको छ ।
किसानलाई दूधमा प्रतिलिटर रु.१ प्रोत्साहन रकम थप गरिएको छ। सुधारका प्रयास सुरु भएपछि डिडिसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ । राजस्व संकलनसमेत औसत दैनिक रु.६० लाखबाट बढेर रु.९० लाख पुगेको छ ।
कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गर्दै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै रु।३ करोड बचत गरिएको छ ।
डिडिसीले चाँडै खाडी मुलुकमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ। नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारीसमेत भइरहेको छ ।
सिंहदरबार वैद्यखाना विकास समिति
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि रु.११ करोड १६ लाख बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ ।
गत आर्थिक वर्षमा औषधिको कारोबार करिब रु.१३ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो ।
नि:शुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशातर्फ अग्रसर भएको छ । हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने लक्ष्य लिइएको छ । त्यसैगरी जडीबुटी तथा औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको छ ।
राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेको यो सुधारले लामो समयदेखि रुग्ण रहेका अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिने विश्वास बलियो बनाएको छ । इमान्दारी र देशप्रतिको समर्पण कायम रहिरहेमा रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योग तथा संस्थानलाई पनि पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने अपेक्षा गरिएको छ ।
माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गरिएको छ ।
रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानमा देखिन थालेका सुधारका आशालाग्दा परिणामका सूचक हुन् । यी उपलब्धिले इच्छाशक्ति, इमान्दार प्रयास र प्रभावकारी व्यवस्थापनका साथ अघि बढ्दा लामो समयदेखि समस्याग्रस्त राष्ट्रिय उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिने विश्वास बलियो बनाएको छ ।






