काठमाडौँ । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो रोजाइको राष्ट्रिय टोलीको सट्टा ‘नेपाल ए’लाई सहभागी गराउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अनिलकुमार शाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
अगस्ट २१ देखि ३० सम्म सञ्चालन हुने प्रतियोगिताका लागि घोषित टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडीसँगै नयाँ तथा उदीयमान खेलाडीलाई अवसर दिइएको छ।
टोलीमा कप्तान अनिलकुमार शाहसहित तृतराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, राशिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्।
एक दिवसीय टोलीबाट बाहिरिएका कुशल भुर्तेललाई यस पटक ‘नेपाल ए’मा समावेश गरिएको छ। नेपालले प्रतियोगिताको लिग चरणमा ६ खेल खेल्ने तालिका छ। पहिलो खेल अगस्ट २१ मा एनटी स्ट्राइकविरुद्ध हुनेछ।
त्यसको भोलिपल्ट अगस्ट २२ मा नेपालले बंगलादेश हाई-परफर्मेन्स टोलीको सामना गर्नेछ। अगस्ट २४ मा होबार्ट हुरिकेन्स एकेडेमीसँग खेल्ने नेपालले अगस्ट २६ मा एसीटी कोमेट्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।
त्यसैगरी अगस्ट २७ मा किङ्समेनसँग खेल्ने नेपालले लिग चरणको अन्तिम खेल अगस्ट २९ मा भिक्टोरियाविरुद्ध खेल्ने तालिका छ।
प्रतियोगिताले राष्ट्रिय टोलीको नियमित संरचनाबाहिर रहेका तथा सम्भावना बोकेका खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता देखाउने अवसर दिनेछ।







