काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहका नेता रमेश लेखकले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई पुनः एकीकृत गर्नुपर्ने बताएका छन्।
संस्थापन इतर समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लेखकले विशेष महाधिवेशनपछि पार्टी विभाजनको अवस्थामा पुगेको दाबी गरे।
‘हामीले विशेष महाधिवेशन रोक्न सकेनौँ। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको छ,’ लेखकले भने, ‘त्यसकारण शेरबहादुर देउवा दाइको नेतृत्वमा पार्टीलाई फेरि एकीकृत गर्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु।’
लेखकले पूर्वसभापति देउवा वैधानिक रूपमा पुनः सभापति पदमा प्रतिस्पर्धा गर्ने अवस्थामा नरहेको र राजनीतिक रूपमासमेत प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेको बताए। यस्तो अवस्थामा विशेष महाधिवेशन आयोजना गर्नु आवश्यक नरहेको उनको तर्क थियो।
‘यदि नेतृत्व परिवर्तनकै प्रश्न थियो, हस्तान्तरणकै प्रश्न थियो भने पनि शेरबहादुर दाइले वैधानिक रूपमा सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवस्था थिएन,’ उनले भने, ‘उहाँले राजनीतिक रूपमा पनि प्रतिस्पर्धी हुन्नँ भनेर घोषणा गरिसक्नुभएको थियो।’
१५औँ महाधिवेशनबाट नियमित प्रक्रियाअनुसार नयाँ नेतृत्व आउने अवस्था रहे पनि विशेष महाधिवेशनमार्फत उक्त प्रक्रियालाई अस्वाभाविक रूपमा अगाडि बढाइएको लेखकको दाबी छ।
उनले नियमित महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने प्रक्रियालाई जन्म प्रक्रियासँग तुलना गर्दै हतारमा गरिएको विशेष महाधिवेशनले पार्टीका दुवै पक्षमा समस्या उत्पन्न गरेको टिप्पणी गरे।
‘हामी १५औँ महाधिवेशनमा अघि बढेपछि प्राकृतिक र नियमित रूपमा नयाँ नेतृत्व आउने थियो,’ लेखकले भने, ‘तर विशेष महाधिवेशनले अवधि पुगेर स्वाभाविक रूपमा सन्तान जन्मिने अवस्थामा रहेकी आमालाई बलजफ्ती शल्यक्रिया गरेर चाँडै सन्तान प्राप्त गर्न खोजेजस्तै गर्यो। त्यसले दुवैतिर समस्या पैदा गर्यो।’
अस्वाभाविक रूपमा नेतृत्व परिवर्तन गर्दा नयाँ नेतृत्व सशक्त बन्न नसक्ने र पार्टी संरचनामा समेत प्रतिकूल असर पर्ने उनको तर्क थियो।






