काठमाडौँ । नेपाली काँग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी अहिले विभाजित मनस्थितिबाट गुज्रिए पनि अन्ततः एक ढिक्का हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार सुरु भएको काँग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देशका लागि काँग्रेस एकताबद्ध हुनु आवश्यक रहेको बताए।
‘नेपाली काँग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ,’ कोइरालाले भने, ‘हामी काँग्रेसलाई मिलाउँछौँ। नेपाली काँग्रेस एक ढिक्का हुन्छ भन्नेमा म विश्वस्त छु। देशका निम्ति पनि पार्टी एक ढिक्का हुनु जरुरी छ।’
उनले काँग्रेस सबै पक्षलाई समेटेर अघि बढ्ने राजनीतिक दल भएको दाबी गरे। पार्टीभित्र कसैको निरङ्कुशता स्वीकार नगरिने उनको भनाइ थियो।
‘नेपाली काँग्रेस मात्रै यस्तो पार्टी हो, जसले सधैँ सबैलाई मिलाएर हिँडेको छ,’ उनले भने, ‘हामी कसैको निरङ्कुशता स्वीकार गर्दैनौँ।’






