सर्लाही । सर्लाही प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका ६ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। कारबाहीका क्रममा तीन चालक पक्राउ परेका छन् भने तीन जना फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार साउन ३० र ३१ गते लालबन्दी नगरपालिकाका विभिन्न स्थानमा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही गरेको हो।
प्रहरीले लालबन्दी नगरपालिका-२ स्थित नवलपुर रेलवे ट्र्याकको पुलमुनि, झोलुङ्गे पुल क्षेत्रको लखनदेही खोला तथा लालबन्दी नगरपालिका-५ स्थित कालिन्जोर खोलामा छुट्टाछुट्टै कारबाही गरेको जनाएको छ।
कारबाहीका क्रममा ना.७ त १५२०, प्रदेश-०२-०३-००१ त २४९०, प्रदेश-०२-०२-००१ त १८०६, ना.७ त ४२६९, प्रदेश-२-०२-००१ त २०३८ र को.२ त ४७२२ नम्बरका ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चालकमा हरिवन नगरपालिका-६ घुर्कौलीका ३७ वर्षीय जयफल मोक्तान, हरिवन नगरपालिका–६ का २७ वर्षीय श्यामलाल मोक्तान र पूर्ण ठेगाना खुल्न बाँकी रहेका २५ वर्षीय राम केवल महतो छन्।
ना.७ त ४२६९, प्रदेश-२-०२-००१ त २०३८ र को.२ त ४७२२ नम्बरका ट्र्याक्टरका चालक भने घटनास्थलबाट फरार रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका ट्र्याक्टर तथा व्यक्तिका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए।
सरकारले ‘ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७’ मार्फत नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनलाई नियमन गर्दै आएको छ। तोकिएको प्रक्रिया र अनुमति नलिई नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवालगायत पदार्थ उत्खनन गर्न पाइँदैन।
सर्लाहीका नदी तथा खोलामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासोबीच प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।






