काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय गोर्खा सैनिक तथा उनीहरूका परिवारका लागि स्वास्थ्य सेवा, कल्याणकारी कार्यक्रम र अन्य आवश्यक सुविधालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
पोखरामा आयोजित पेन्सन क्याम्पमा भारतीय स्थल सेनाध्यक्ष सेठले भूतपूर्व सैनिकहरू भारत–नेपाल सम्बन्धका महत्वपूर्ण प्रतिनिधि रहेको उल्लेख गर्दै उनीहरूको योगदान र सेवाको सम्मान गरिएको बताएका हुन् । भारतीय सेनामा गोर्खा सैनिकले पुर्याएको योगदानलाई स्मरण गर्दै उनले भूतपूर्व सैनिकको हित संरक्षणलाई सेनाको दायित्वका रूपमा प्रस्तुत गरेका छन् ।
स्वास्थ्य सेवातर्फ पोखरामा सञ्चालित ‘एक्स-सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम’ (ईसीएचएस) पोलिक्लिनिकलाई थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने पहल अघि बढाइने उनले जानकारी दिए । पोलिक्लिनिकको पूर्वाधार र उपचार क्षमता विस्तारका लागि आधुनिक उपकरण थप्ने विषयमा पनि काम गरिने उनको भनाइ थियो ।
भूतपूर्व सैनिकबाट लामो समयदेखि उठ्दै आएको सुनौली-गोरखपुर बस सेवाको मागबारे समेत आवश्यक पहल भइरहेको सेठले बताए । बस सेवा सञ्चालन भए ईसीएचएससहित विभिन्न स्वास्थ्य सेवा लिन गोरखपुर जाने भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई आवतजावतमा सहजता पुग्ने उनको भनाइ थियो ।
नेपालमा सन् २०१४ देखि ईसीएचएस कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिँदै उनले यसको माध्यमबाट भारत र नेपालका विभिन्न सूचीकृत अस्पतालमा भूतपूर्व सैनिक तथा आश्रित परिवारले उपचार सुविधा पाइरहेको बताए । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न थप अस्पताललाई ईसीएचएसको सञ्जालमा समेट्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।
पश्चिम नेपालका सेवाग्राहीलाई लक्षित गरी कोहलपुरमा ईसीएचएस पोलिक्लिनिक सञ्चालनमा ल्याइएको उल्लेख गर्दै सेठले त्यसबाट सो क्षेत्रका भूतपूर्व सैनिक र उनीहरूका परिवारलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा व्यक्त गरे ।
कल्याणकारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्ला सैनिक बोर्डमार्फत भूतपूर्व सैनिकका परिवारका सदस्यलाई कम्प्युटर, ब्युटिसियन, फेसन डिजाइनिङलगायत सीपमूलक तालिम उपलब्ध गराइरहेको उनले बताए । सिक्किमस्थित मेघाभी स्किल्स युनिभर्सिटीसँग भएको सहकार्यपछि ती तालिमबाट प्राप्त प्रमाणपत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त हुने व्यवस्था गरिएको उनको भनाइ थियो ।
सेठले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भौगोलिक सीमामा मात्र सीमित नभई साझा संस्कृति, परम्परा, धार्मिक विश्वास र इतिहाससँग समेत जोडिएको बताए । दुवै देशका सेनाबीच कायम विशेष सम्बन्धलाई पनि उनले यही ऐतिहासिक निकटताको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरे ।
गोर्खा सैनिकले भारतीय सेनामा विभिन्न युद्ध तथा चुनौतीका समयमा प्रदर्शन गरेको साहस, समर्पण र त्यागको प्रशंसा गर्दै उनले उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरे । भारतीय सेनामा कार्यरत सैनिकदेखि अवकाशप्राप्त सैनिकसम्मलाई आफूले ‘योद्धा’का रूपमा हेर्ने गरेको उनले बताए ।
सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि भारतीय सेनाका लागि तय गरेका पाँच प्रमुख प्राथमिकताबारे पनि उनले जानकारी दिए । सैन्य तयारी तथा सतर्कता, नवीनता र रूपान्तरण, संयुक्तता, आत्मनिर्भरता तथा योद्धाको अवधारणालाई उनले प्राथमिकतामा राखिएको बताए ।
भूतपूर्व सैनिकले भारतको सेवामा दिएको योगदानप्रति भारतीय सेना गौरवान्वित रहेको उल्लेख गर्दै सेठले आगामी दिनमा पनि उनीहरूको कल्याण र सुविधाका विषयमा आवश्यक सहयोग तथा पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उनले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारप्रति आभार व्यक्त गर्दै ‘जय हिन्द, जय नेपाल, जय भूपू’ नारासहित आफ्नो सम्बोधन टुंग्याएका थिए ।






