काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै तयारी वा छलफल नभएको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूले गरेका कामको समीक्षा हुनु स्वाभाविक भए पनि त्यसलाई मन्त्री हेरफेरसँग जोड्न नहुने स्पष्ट पारे।
उनका अनुसार कुनै मन्त्रीले धेरै काम गरिरहेको अवस्थामा तीमध्ये केही निर्णय वा कार्यसम्पादनमाथि प्रश्न उठ्न सक्ने अवस्था सामान्य हो। त्यस्ता प्रश्नलाई पार्टीले अस्वाभाविक रूपमा नलिने उनको भनाइ छ।
लामिछानेले रास्वपाले आफ्नै दलका मन्त्री तथा नेतृत्वसँग समेत प्रश्न गर्दै आएको बताए। यही विषयमा छलफल गर्न पार्टीले बैठक राखेको उल्लेख गर्दै उनले त्यसको उद्देश्य मन्त्री परिवर्तन नभएको स्पष्ट पारे।
उनले तत्काल कुनै पनि मन्त्रालयका मन्त्री फेर्ने विषयमा छलफलसमेत नभएको दोहोर्याएका छन्।






