काठमाडौँ । नेपालमा खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री साउन महिनामा उल्लेख्य रूपमा बढेको छ। नेपाल आयल निगमका अनुसार साउनमा ५७ हजार ३१६ टन ग्यास आयात तथा बिक्री भएको छ, जुन करिब ४० लाख ३६ हजार ३६४ सिलिन्डर बराबर हो।
निगमले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनको कारोबार पछिल्लो पाँच महिनाकै उच्च हो। असारमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। एक महिनाको अवधिमै साउनमा करिब ९ लाख सिलिन्डर बराबरको खपत थपिएको तथ्यांकले देखाएको छ।
यसअघि चैत २०८२ मा २७ लाख ३२ हजार ३५५ सिलिन्डर बराबर ग्यास आयात तथा बिक्री भएको थियो। वैशाखमा यो मात्रा घटेर २२ लाख ५७ हजार ४९६ र जेठमा २३ लाख १२ हजार ८३७ सिलिन्डरमा सीमित भएको थियो।
त्यसपछि असार हुँदै साउनमा ग्यासको माग पुनः तीव्र रूपमा बढेको निगमको तथ्यांकबाट देखिन्छ।
बढ्दो मागअनुसार आगामी दिनमा ग्यासको आयात थप बढ्ने निगमले जनाएको छ। आपूर्ति सहज रहने भन्दै निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र घरमा अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ।
निगमले बजारमा आपूर्ति व्यवस्थापनलाई ध्यानमा राख्दै उपभोक्ताको वास्तविक आवश्यकताअनुसार खरिद तथा प्रयोग गर्नसमेत सुझाव दिएको छ।







