गोरखा । फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्स नभएको भरुवा बन्दुक राख्ने अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भीमसेन थापा गाउँपालिका-२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका-१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो ‘प्रेम सुनार’ नामक फेसबुक आईडीबाट भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए।
उक्त फोटोका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले सुनारलाई अनुमतिपत्र नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा उक्त बन्दुक पालुङटार नगरपालिका–१ खोप्लाङका ३३ वर्षीय विष्णु सुनारको भएको खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






