काठमाडौँ । नेपाल जनप्रशासन संघले सार्वजनिक प्रशासन, व्यवस्थापन तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वर खनाललाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने निर्णय गरेको छ ।
संघले वि.सं. २०८१ को सम्मान धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू श्रेष्ठ र वि.सं. २०८२ को सम्मान पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनाललाई अर्पण गर्ने निर्णय गरेको हो ।
नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्यले शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गर्नुभयो । विभिन्न कारणवश दुई वर्षको सम्मान एकैपटक घोषणा गरिएको संघले जनाएको छ ।
वि.सं २०८१ का लागि सम्मानित हुन लाग्नुभएका डा. रामकण्ठ माकजू श्रेष्ठले धुलिखेल अस्पतालको स्थापना र सञ्चालनमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको अतुलनीय योगदानको कदर गरिएको छ ।
डा. माकजूको नेतृत्वमा स्वास्थ्य सेवाको प्रभावकारिता, संस्थागत विकास र नागरिकप्रतिको उत्तरदायित्व सुदृढ भएको संघको ठहर छ ।
त्यसैगरी, वि.सं. २०८२ को सम्मानका लागि छानिएका पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनालले सार्वजनिक प्रशासन, नीति निर्माण र सेवाको स्तरवृद्धिमा पुर्याएको विशिष्ट भूमिकाको सम्मान गरिएको हो ।
सार्वजनिक पदमा रहँदा उनले निर्वाह गरेको जिम्मेवारी र प्रशासन सुधारका क्षेत्रमा दिएको योगदानलाई सम्मानको मुख्य आधार मानिएको छ ।
पुरस्कार छनोटका लागि नेपाल सरकारका पूर्वसचिव एवं संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा एक उच्चस्तरीय छनोट समिति गठन गरिएको थियो ।
समितिले करिव तीन महिनाको अध्ययन र निश्चित मापदण्डका आधारमा गरेको सिफारिसलाई संघको कार्यसमितिले अनुमोदन गरेको हो । छनोट प्रक्रियामा सार्वजनिक सेवाप्रतिको प्रतिबद्धता, संस्थागत नेतृत्व र जनसरोकारका विषयमा पुर्याएको प्रभावलाई प्राथमिकता दिइएको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको साझेदारीमा नेपाल जनप्रशासन संघले वि.सं. २०५९ मा यो सम्मान स्थापना गरेको हो । वि.सं. २०६० देखि प्रदान गरिँदै आएको यस सम्मानमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता एवं कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा यो पुरस्कार स्थापित गरिएको हो ।
सार्वजनिक सेवामा व्यावसायिकता, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यो सम्मान प्रदान गरिँदै आएको संघका अध्यक्ष आचार्यले जानकारी दिए ।






