सार्वजनिक प्रशासन राज्य र नागरिकबीचको सम्बन्ध जोड्ने मुख्य सेतु हो। प्रशासनिक निकायको मूल ध्येय सर्वसाधारणलाई सहज, प्रभावकारी, निष्पक्ष र गुणस्तरीय सेवा प्रवाह गर्नु हो। परम्परागत धारणामा सरकारी प्रशासनलाई केवल नीति, नियम, कानुन र प्रशासनिक कार्यविधिको कठोर पालना गर्ने निर्जीव संयन्त्रका रूपमा हेरिन्थ्यो। तर आधुनिक सार्वजनिक व्यवस्थापनमा केवल प्राविधिक ज्ञान, विषयगत विशेषज्ञता वा तर्क गर्ने क्षमता मात्र प्रशासनको सफलताका लागि पर्याप्त हुँदैन भन्ने तथ्य व्यावहारिक रूपमै स्थापित भइसकेको छ। वर्तमान परिप्रेक्ष्यमा सर्वसाधारणका बहुआयामिक आकांक्षा, प्रशासनिक जटिलता र कार्यस्थलको विविध वातावरणलाई कुशलतापूर्वक व्यवस्थापन गर्न संवेगात्मक बुद्धिमत्ताको उपस्थिति अनिवार्य मानिन थालेको छ।
संवेगात्मक बुद्धिमत्ता भनेको आफ्ना र अरूका भावना, आवेग, उत्प्रेरणा तथा संवेगहरूलाई सही तरिकाले पहिचान गर्ने, बुझ्ने, व्यवस्थापन गर्ने र परिस्थितिअनुकूल उपयोग गर्ने क्षमता हो। सन् १९९० को दशकमा मनोवैज्ञानिक ड्यानियल गोलम्यानले यस अवधारणालाई व्यापक रूपमा स्थापित गरेपछि संगठन व्यवस्थापनमा यसको महत्त्व तीव्र रूपमा बढेको हो। गोलम्यानका अनुसार संवेगात्मक बुद्धिमत्ताका मुख्य पाँच आयाम हुन्छन् : स्व-सचेतता, स्व-नियमन, आन्तरिक उत्प्रेरणा, समानुभूति र सामाजिक सीप। यी पाँचै आयाम सार्वजनिक सेवामा कार्यरत कर्मचारीका लागि केवल व्यक्तिगत गुण मात्र नभई पेसागत सफलता र सेवाग्राहीको सन्तुष्टिका मुख्य आधार हुन्।
सार्वजनिक प्रशासनको पहिलो र महत्त्वपूर्ण आधार स्व-सचेतता हो। सार्वजनिक पदमा आसीन राष्ट्रसेवकले आफ्ना सबल र दुर्बल पक्षका साथै आफ्ना संवेगहरूले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छन् भन्ने कुरा स्पष्ट रूपमा बुझ्न आवश्यक हुन्छ। कुनै पनि निर्णय गर्दा वा सेवाग्राहीसँग संवाद गर्दा आफ्ना व्यक्तिगत पूर्वाग्रह, रिस वा तनावलाई पन्छाएर तटस्थ र विवेकपूर्ण निर्णय लिनु स्व-सचेतताको उपज हो। जब एक प्रशासक आफ्नो भावनात्मक अवस्थाप्रति सचेत हुन्छ, उसले आफ्ना भावनाहरूलाई सेवा प्रवाहमा बाधा पुग्न दिँदैन।
आफूभित्र उत्पन्न हुने तनाव र आवेगलाई चिनेर त्यसलाई नियन्त्रणमा राख्नु स्व-नियमन हो। सार्वजनिक सेवामा अनेकौँ चुनौती, स्रोत-साधनको सीमितता र अत्यधिक कार्यबोझ हुन्छ। यस्तो स्थितिमा धैर्य गुमाउनु वा आक्रोशित हुनु प्रशासनिक धर्मविपरीत मानिन्छ। स्व-नियमनको क्षमता भएको कर्मचारीले दबाबपूर्ण अवस्थामा पनि संयमतापूर्वक निष्पक्ष र न्यायसंगत निर्णय लिन सक्छ। यस्तो प्रशासकले उत्तेजना वा बाह्य दबाबमा आएर गलत कदम चाल्दैन, बरु शान्त र संयमित भएर परिस्थितिको उचित मूल्याङ्कन गर्छ।
यसैगरी, आन्तरिक उत्प्रेरणाले प्रशासकलाई पद, प्रतिष्ठा वा आर्थिक लाभभन्दा माथि उठेर राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरित गर्छ। बाह्य दबाब वा प्रलोभनका बाबजुद पनि उच्च नैतिक आचरण र पेसागत निष्ठा कायम राख्न आन्तरिक उत्प्रेरणाको ठूलो भूमिका रहन्छ। कर्तव्यनिष्ठ कर्मचारीले बाह्य पुरस्कार वा प्रशंसाको पर्खाइ नगरी आफ्नो कामलाई नै सर्वोपरि मानेर सेवाभावले कार्य गर्दछ।
त्यस्तै, सार्वजनिक प्रशासनमा ‘समानुभूति’ अथवा अरूको दृष्टिकोणबाट परिस्थिति बुझ्ने क्षमता अति नै संवेदनशील विषय हो। सार्वजनिक सेवा लिन आउने सर्वसाधारण विभिन्न पृष्ठभूमि, पीडा र समस्या बोकेर आएका हुन्छन्। विशेषगरी असहाय, गरिब र पिछडिएका वर्गका लागि प्रशासनिक प्रक्रियाहरू जटिल लाग्न सक्छन्। एक समानुभूतिशील प्रशासकले सेवाग्राहीको समस्यालाई आफ्नै समस्या मानेर सहानुभूतिपूर्वक सुन्ने र सहजीकरण गर्ने प्रयास गर्छ। यसले सरकार र जनताबीचको दूरी घटाउनुका साथै प्रशासनप्रतिको जनविश्वासलाई अभिवृद्धि गर्छ।
पाँचौँ आयाम सामाजिक सीप हो, जसले अन्तरवैयक्तिक सम्बन्ध निर्माण र प्रभावकारी सञ्चारमा मद्दत गर्छ। सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूले दैनिक रूपमा विभिन्न प्रकारका नागरिक, राजनीतिक नेतृत्व, सञ्चारमाध्यम र नागरिक समाजसँग अन्तरक्रिया गर्नुपर्छ। प्रभावकारी सामाजिक सीप भएका प्रशासकले सजिलैसँग सम्बन्धहरू स्थापना गर्न, द्वन्द्वको समाधान गर्न र साझा सहमति कायम गर्न सक्छन्। यसले समग्र संगठनको वातावरणलाई सकारात्मक बनाउन सहयोग पुर्याउँछ।
सार्वजनिक सेवामा कार्यरत जनशक्तिमा उच्च संवेगात्मक बुद्धिमत्ता हुनुका अनेकौँ प्रत्यक्ष लाभहरू रहेका छन्। पहिलो, यसले कार्यस्थलमा विवाद र तनाव व्यवस्थापन गर्न मद्दत गर्छ। सरकारी कार्यालयहरूमा विभिन्न विचारधारा, पृष्ठभूमि र कार्यशैली भएका कर्मचारीहरू कार्यरत हुन्छन्। संवेगात्मक सीपयुक्त नेतृत्व र कर्मचारीहरूले आपसमा सुमधुर सम्बन्ध कायम राख्दै समूहगत कार्यलाई प्रवर्द्धन गर्न सक्छन्। दोस्रो, यसले सेवा प्रवाहमा ढिलासुस्ती र रुखो व्यवहारलाई अन्त्य गर्छ। जब कर्मचारीमा समानुभूति र सामाजिक सीपको विकास हुन्छ, उनीहरू सेवाग्राहीसँग उत्तरदायी, पारदर्शी र मैत्रीपूर्ण व्यवहार गर्न बाध्य हुन्छन्। यसले ‘हेलो सरकार’ वा ‘नागरिक बडापत्र’ जस्ता संयन्त्रहरूलाई केवल औपचारिक कागजातमा सीमित नराखी व्यवहारमा नै जीवन्त बनाउँछ।
प्रशासनिक नेतृत्वको सन्दर्भमा संवेगात्मक बुद्धिमत्ताको भूमिका अझ व्यापक हुन्छ। एक सफल प्रशासक वा नेतृत्वकर्ताले आफ्ना मातहतका कर्मचारीहरूको भावना बुझ्न, उनीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई साझा लक्ष्य हासिल गर्न प्रेरित गर्न सक्नुपर्छ। आदेश र निर्देशका आधारमा मात्र चलाइने प्रशासन अल्पकालीन र निष्प्रभावी हुन सक्छ, तर संवेगात्मक रूपमा परिपक्व नेतृत्वले टोलीमा अपनत्व र समर्पणको भावना जागृत गराउन सक्छ। द्वन्द्व व्यवस्थापन, वार्ता र कठिन परिस्थितिमा सर्वसम्मत निर्णय निर्माणका लागि संवेगात्मक परिपक्वता अनिवार्य सर्त हो।
वर्तमान समयमा हाम्रोजस्तो विकासोन्मुख देशको सार्वजनिक प्रशासनमा संवेगात्मक बुद्धिमत्ताको सान्दर्भिकता अझ बढी छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागू भएसँगै तीनै तहका सरकारहरू जनताको घरदैलोमा पुगेका छन्। जनताका अपेक्षा र गुनासाहरू उच्च छन्, तर स्रोत-साधन र पूर्वाधार सीमित छन्। यस्तो विषम परिस्थितिमा नागरिकमा देखिने असन्तोष र आक्रोशलाई शान्तपूर्वक सम्बोधन गर्न प्रशासनिक संयन्त्रमा उच्च स्तरको संवेगात्मक बुद्धिमत्ता आवश्यक पर्छ।
यद्यपि, सार्वजनिक प्रशासनमा संवेगात्मक बुद्धिमत्तालाई संस्थागत गर्न थुप्रै चुनौतीहरू विद्यमान छन्। हाम्रो प्रशासनिक प्रणाली अझै पनि प्रक्रियामुखी, पदसोपानयुक्त र औपचारिक ढाँचामा बढी केन्द्रित छ। कर्मचारी छनोट प्रक्रियामा केवल प्राविधिक र विषयगत ज्ञानलाई मापन गर्ने परिपाटी छ, जहाँ उम्मेदवारको व्यावहारिक सीप, मनोवृत्ति र संवेगात्मक क्षमताको परीक्षण प्रायः शून्यप्रायः हुन्छ। यसका साथै, तालिम तथा क्षमता विकास कार्यक्रमहरूमा पनि प्रशासनिक कानुन, बजेट र कार्यविधिलाई मात्र जोड दिइन्छ; तनाव व्यवस्थापन र सेवाभावजस्ता पक्षहरूलाई उपेक्षा गर्ने गरिन्छ।
यी चुनौतीहरूको समाधानका लागि बहुआयामिक प्रयासको आवश्यकता छ। सर्वप्रथम, निजामती सेवा तथा अन्य सार्वजनिक सेवाको भर्ना र छनोट प्रक्रियामा नै उम्मेदवारको संवेगात्मक बुद्धिमत्ता र व्यावहारिक व्यवहार परीक्षण गर्ने आधुनिक संयन्त्र (जस्तै : मनोवैज्ञानिक विश्लेषण, विषयवस्तु अध्ययन, भूमिका अभिनय) समावेश गरिनुपर्छ। लोक सेवा आयोगले परीक्षा प्रणालीलाई परिमार्जन गरी उम्मेदवारको बौद्धिक क्षमताका साथसाथै भावनात्मक परिपक्वता जाँच गर्ने तरिकाहरू भित्र्याउनुपर्छ।
दोस्रो, बहालवाला कर्मचारीहरूका लागि आयोजना गरिने सेवा प्रवेश तथा सेवाकालीन तालिमहरूमा तनाव व्यवस्थापन, समानुभूति, भावनात्मक नियमन र सेवाग्राहीमैत्री सञ्चारसम्बन्धी पाठ्यक्रमलाई अनिवार्य गरिनुपर्छ। तेस्रो, कार्यस्थलको वातावरणलाई सकारात्मक र उत्प्रेरक बनाउन स्वास्थ्यवर्धक कार्यसंस्कृति, पुरस्कार तथा दण्डको वस्तुनिष्ठ प्रणाली र मानसिक स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ। चौथो, प्रशासनिक नेतृत्वले स्वयं संवेगात्मक बुद्धिमत्ताको परिपक्व उदाहरण प्रस्तुत गर्नुपर्छ।
निष्कर्षमा, सार्वजनिक प्रशासन केवल नियम र ऐन-कानुनको निर्जीव सङ्गालो मात्र होइन; यो त जीवित मानवहरूद्वारा जीवित मानवहरूकै लागि सञ्चालन गरिने एक जीवन्त सामाजिक प्रक्रिया हो। नियम, कानुन र प्रविधि प्रशासनका शरीर हुन् भने संवेगात्मक बुद्धिमत्ता यसको आत्मा हो। जबसम्म सार्वजनिक सेवकहरूमा विषयगत ज्ञानका साथै उच्च संवेगात्मक परिपक्वता, करुणा, निष्ठा र समानुभूतिको विकास हुँदैन, तबसम्म सुशासन र जनमुखी प्रशासनको परिकल्पना साकार हुन सक्दैन। तसर्थ, निजामती सेवालाई थप उत्तरदायी, जनमुखी, स्वच्छ र सक्षम बनाउन संवेगात्मक बुद्धिमत्तालाई प्रशासनिक संस्कृतिको अभिन्न अंगका रूपमा विकास र संस्थागत गर्नु आजको अपरिहार्य आवश्यकता हो।






